काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भन्ने अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति निकालेर भनेका छन्- ‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ। फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो। प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ ।’
आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन्’ भनेका थिए ।