काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा दिने भएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागेको जानकारी दिएका छन् ।
भारतले उपलब्ध गराएको खोप भोलि (बिहीबार) नै काठमाडौं आइपुग्ने जानकारी पनि मन्त्री त्रिपाठीले दिएका छन् । भारतले आजदेखि छिमेकी मुलुकहरुलाई कोरोना खोप दिने क्रम सुरु गरेको छ । उसले आज भुटान र माल्दिभ्समा खोप पठाइएको छ । नेपाल र बंगलादेशमा भोलि बिहीबार खोप पठाउने जानकारी दिएको छ ।
भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी १२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।
गतासाता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणका क्रममा भारतले नेपाललाई अनुदानमा १० लाख डोज खोप दिने सहमति गरेको थियो ।