चितवन । बागमती प्रदेश प्रहरी कार्यालयले सुरु गरेको आन्तरिक शुद्धिकरण अभियान अन्तर्गत घुस असुलीमा संलग्न ३ प्रहरी स्टीङ अप्रेसनमा परेका छन् । प्रदेश मातहतका प्रहरी कार्यालयहरुमा हुने अनियमितता रोक्न अनुगमन गर्ने क्रममा टोलीले मंगलबार बेलुका वडा प्रहरी कार्यालय नारायणगढ र ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ३ प्रहरीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका दुई प्रहरी र वडा प्रहरी कार्यालय नारायणगढका १ प्रहरी छन् ।
पक्राउ पर्नेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत हवल्दार लोकबहादुर घर्तीमगर र जवान जमुना खड्कासहितका अर्का एक जना छन् । नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखी अनुसन्धान भइरहेको जनाइएको छ ।
निषेधित क्षेत्रमा सवारी साधन रोक्ने र पार्किङ गर्ने म्याजिक तथा अटो रिक्सा चालकसँग घुस लिंदालिंदै उनीहरु पक्राउ परेका थिए । अनुसन्धानका क्रममा सवारी चालकहरुले एक पसलमा पैसा जम्मा गर्ने र प्रहरीले सोही पसलबाट पैसा लिने गरेको खुलेको छ । सो घटनामा घुस दिने चार जना चालक र घुस संकलन गर्ने पसलधनी पनि पक्राउ परेका छन् ।
पक्राउ परेका एक प्रहरी चितवनका एसपी नान्तिराज गुरुङले घुस असुलीका लागि परिचालन गर्दैआएकामध्येका एक हुन् । गुरुङसँगै सरुवा भएका सबै एसपी परिवर्तन हुँदा पनि उनलाई यथावत राखिएको छ । चितवन जाने एसपीहरुको हानथाप हुँदा गुरुङ थमौतीमा परेका छन् । केही दिनमै सरुवा हुने भएकाले उनले घुस असुलीलाई प्राथमिकता दिएकै कारण उनका निकट प्रहरीलाई प्रदेश प्रहरीको टोलीले नियन्त्रणमा लिनुपर्ने अवस्था आएको छ ।
त्यस्तै चितवन ट्राफिकका इन्स्पेक्टर दयाकृष्ण भट्टले लकडाउनको समयमा बर्षौदेखि कार्यालय परिसरमा रहेका कवाडी बिक्री गरी रकम आम्दानीमा नबाँधी भ्रष्टाचार गरेको आरोप छ । उनले पनि घुस असुलीकै लागि प्रहरी परिचालन गरेको मंगलबारको घटनाले पुष्टि गरेको छ । भट्टले लकडाउनको समय पारी २०७६ मा कवाडी बिक्री गरे पनि कार्यालयमा आम्दानी नबाँधी हिनामिना गरेकोबारेमा नेपालफेसले समाचार उजागर गर्दा उनले प्रेस काउन्सिलमा उजुरी हाली अनियमितता ढाकछोप गर्ने प्रयास गरेका थिए । तर उनी भ्रष्टाचारमा कति निर्लिप्त छन् भन्ने कुराको पुष्टि उनले परिचालन गरेका २ प्रहरी घुससहित नियन्त्रणमा परेबाट प्रष्ट भएको छ ।
प्रदेश प्रहरी कार्यालयका डीआइजी बसन्त लामाले कार्यक्षेत्रमा घुस लिने तल्लो तहका प्रहरीलाई नियन्त्रणमा लिए पनि उनीहरुलाई त्यो कार्यमा परिचालन गर्नेहरुलाई भने कुनै पनि कारबाही नगरी छाडिदिने गरेको छ । यसअघि बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरीलाई घुस माग्ने क्रममा नियन्त्रढामा लिए पनि कार्यालय प्रमुख प्रकाश रानाभाटलाई भने सामान्य स्पष्टीकरण समेत नसोधी उन्मुक्ति दिइएको थियो । तर उनलाई बागमती ट्राफिकबाट रमाना लिएको ७ महिना नपुगी धनुषाको एसपीमा सरुवा गरी पुरस्कृत गरिएको छ । यसले प्रहरीमा तल्लो तहकामाथि कानुन लाग्ने तर तिनलाई परिचालन गरी घुसको ठूलो हिस्सा लिने हाकिमहरुले उन्मुक्ति पाउने हुँदैआएको छ । चितवनको घुस प्रकरणमा पनि एसपी गुरुङ र इन्सपेक्टर भट्टले उन्मुक्ति पाउाने तर तिनीहरुको निर्देश्नमा घुस असुली गर्ने तल्लो दर्जाका प्रहरी पीडित हुने भएका छन् ।