Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य परामर्श


    मंगलबार, माघ ६ २०७७
    590
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो ।

    वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा संयोजक पवन पोखरेलले जानकारी दिनुभयाो । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्य समस्यका बारेमा जानकारी लिएर आवश्यक परामर्श प्रदान गर्ने व्यवस्था गर्न गाउँपालिकाको तर्फबाट कार्यक्रम शुरु गरिएको स्वास्थ्य उहाँले बताउनुभयो । स्वास्थ्य परामर्श प्रदान गर्न सम्बन्धित वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिनुभयो ।

    “ज्येष्ठ नागरिकको हितलाई ध्यान दिएर अघि सारिएको स्वास्थ्य परामर्शका कार्यक्रमलाई क्रमशः सबै वडामा विस्तार गरिने छ”, उहाँले भन्नुभयो, “अभियानका क्रममा गाउँपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउन उनीहरुको तथ्याङ्क सङ्कलनको कामसमेत भइरहेको छ ।” गाउँपालिकाले आफ्नो घरैमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका स्थानीय बासिन्दा यसअघिसम्म घण्टौँ पैदल हिँडेर चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका थिए । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उक्त गाउँपालिकाका अधिकांश स्थानीय बासिन्दा स्वास्थ्य जाँच गराउनकै लागि छिमेकी जिल्ला उदयपुरको गाईघाट धाउनुपर्ने बाध्यता छ ।

    राष्ट्रिय सडक सञ्जालको पहुँचसमेत नपुगेको उक्त गाउँपालिकामा पछिल्लो समय हिउँदको समयमा भने यातायात सञ्चालन हुन थालेको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि ज्येष्ठ नागरिक तथा गर्भवतीका लागि विशेष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

    जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्भवतीका लागि आइरन चक्की घरैमा उपलब्ध गराउनुका साथै यातायात भाडामा छुट दिँदै आएको छ । हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले गर्भवतीको निःशुल्क गर्भजाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको छ । उक्त दुई स्थानीय तहले स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँच गर्ने सुविधा विस्तार गर्न वनहर्ट वल्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरेको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार