महेश्वर न्यौपाने, शैलेश थापा र भूपेन्द्र खत्री
काठमाडौं । नेपाल प्रहरीले सोमबार गर्न लागेको एसपीहरुको सरुवा एक एसपीका कारण रोकिएको छ । चितवन, पर्सा, काभ्रे, बारा जस्ता जिल्लाका एसपीहरुको एक बर्ष कार्यकाल पूरा भइसकेकाले प्रहरी प्रधान कार्यालयले ती जिल्लामा सरुवा गर्न लागेको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षा प्रतिष्ठान(एकेडेमी)मा कार्यरत एसपी भूपेन्द्र खत्रीलाई चितवनमा सरुवा गर्ने कि नगर्ने बिषयमा विवाद भएका कारण सोमबार सरुवा नभएको स्रोतले बताएको छ । एकेडेमीका एआइजी प्रद्युम्न कार्की, महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पाल र आइजीपी शैलेश थापाले खत्रीलाई चितवन पठाउन खोजेका छन् । तर गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले खत्रीको नाममा असहमति जनाएपछि सरुवा रोकिन पुगेको प्रहरी स्रोतको दाबी छ । २०६४ चैतमा ईटाभट्टामा हालेर २१ जनालाई जिउँदै मार्ने मोहम्मद अफ्ताव आलमलाई पक्राउ नगरी भगाउने कार्यमा संलग्न भएकाले उनलाई चितवन पठाउने बिषयमा सचिव न्यौपाने सकारात्मक हुन नसकेका हुन् ।
एसपी खत्रीले नै अफ्ताव आलमका भाइ मोहताव आलमलगायतलाई भगाएको आरोप लागेको थियो । आलमलाई पक्राउ गर्न एसपी खत्रीले आनाकानी गरेपछि तत्कालीन आईजीपी सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाटै टोली पठाएका थिए । प्रहरी प्रधान कार्यालयबाट टोली खटाएपछि आफ्नो बदनाम हुनसक्ने त्रासमा उनी हतार हतार आलमलाई पक्राउ गर्न गएका थिए । र, आफैंंले पक्रेको भनी मिडियामा सेलिब्रेटी बनेका थिए । यथार्थमा हेडक्वाटरबाट टोली नपठाएको भए उनी आलमलाई पक्राउ गर्ने पक्षमा नभएको गृहप्रशासनका सबै जानकार छन् । ठाकुर ज्ञवाली आइजीपी हुँदा आफ्नोबारेमा समाचार लेखाउने गरेकाले पनि न्यौपाने खत्रीसँग रुष्ट भएको स्रोत बताउँछ ।
पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते साँझ रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम बिस्फोट गराएको र र बिष्फोटमा परी घाइते भएका २१ जनालाई आफ्नै स्वामित्वको इटाभट्टामा हालेर मारेको आरोप आलममाथि छ । ईटाभट्टामा हालिएकाहरुमा १९ भारतीय थिए भने २ नेपाली थिए । यस्तो जघन्य अपराधमा संलग्न आलमसहितका दोषीलाई पक्राउ गर्न उदासिनता देखाएकाले खत्रीलाई चितवन पठाउने पक्षमा गृहप्रशासन सकारात्मक नभए पनि तीनै एआइजी र आइजीपी थापा भने उनलाई पठाउन एकजुट देखिएका छन् ।
खत्रीमात्र होइन, चितवनमा सरुवा हुन आइजीपी सचिवालयमा रमेश थापा, काठमाडौं परिसरका सोमेन्द्रसिंह राठौर, अपराध अनुसन्धान महाशाखाका इश्वर कार्की, श्यामकृष्ण अधिकारी लगायत लागेका छन् । चितवनपछिको एसपीहरुको रोजाई पर्सा र त्यसपछि मात्र बारा, काभ्रे जिल्ला छन् ।