Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेथिति रोक्न नसकेपछि सहरी मन्त्रालयका सचिवले सरुवा मागे


    आइतबार, फाल्गुन १८ २०८१
    3.4K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयमा आउने वित्तिकै सिस्टम बसाल्न खोजेका थिए । काठमाडौं बाहिरका विभिन्न आयोजना कार्यालयमा कार्यरत ५ जना पहुँचवाला निमित्त आयोजना प्रमुख खाली गरेर दरबन्दी अनुसार डिभिजन इञ्जिनियरहरुलाई आयोजनामा पठाउन खोजेका थिए ।

    मन्त्रालय र सहरी बिकास तथा भवन निर्माण बिभागमा उपसचिव (डीई)हरुलाई जिम्मेवारीबिहीन जस्तै राखेर फाइल बढुवा भएका अधिकृत(इन्जीनीयर)हरुलाई जनकपुर, धनकुटा जस्ता अरबौंका आयोजना प्रमुख बनाइएको बिषयमा सचिव सिग्देल गम्भीर थिए । उनले ती आयोजनामा दरबन्दी अनुसार डीई नै खटाउन खोज्दा मन्त्रीको स्वकीय सचिवालयबाटै अबरोध भएपछि उनी सरुवा माग्न बाध्य भएको सहरी विकास मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

    ती अधिकारीले भने–फाइल बढुवा भएका इन्जीनीयरहरुको ठाउँमा डीई खटाउन अवरोध भएपछि अन्ततः सिग्दलले मन्त्रालयबाटै सरुवा मागेका छन् । सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेटेरै सिग्देलले सरुवा मागेको सिग्देल निकट स्रोतको भनाइ छ । यतिबेला सिग्देलले आफूनिकट कर्मचारीहरुसँग भन्ने गरेका छन, ‘बरु मलाई ऊर्जामै ठिक थियो । यस्तो टेन्सन त त्यहाँ थिएन ।’

    गएको मंसिरमा सिग्देल सहरीमा आएका थिए । ४ महिना नपुग्दै उनी मन्त्री सिंहको सचिवालयमा कार्यरत युपी लामिछानको व्यवहारदेखि वाक्कदिक्क भएका छन् । आफूले भनेको केही नहुने भएपछि उनले सरुवा मागेको स्रोतको भनाइ छ ।

    सिग्देलको ठाउँमा सरजु बैद्य या प्रमिला बज्राचार्यमध्ये एक जनालाई ल्याउन सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मच्चाकाजी महर्जन र उपमहानिर्देशक प्रकीर्ण तुलाधारले लविङ गर्न सुरु गरिसकेका छन् । यतिबेला वर्तमान सचिव सिग्देलसँग महर्जन र तुलाधारको ट्यूनिङ मिल्न छाडेको छ । केही दिनअघि मन्त्री सिंहलाई भेटेर महर्जन र तुलाधरले सिग्देलको विषयमा गुनासो पोखेका थिए । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटामा सुमन मिश्र, जनकपुरमा विनोद यादव, नेपालगञ्जमा रामकृष्ण आचार्य, सुर्खेतमा कमल दर्लामी र डोटिमा रामआशिष दास निमित्त भई काम गरिरहेका छन् ।

    यी सबै आकर्षक र बढी बजेट भएका आयोजना कार्यालय हुन् । यी पाँचमध्ये दास भने बढुवा हुने लाइनमा छन् । एकातिर पाँच जना निमित्त भई काम गरिरहेका छन् भने अर्कोतिर बीस जना कर्मचारी उपसचिवमा बढुवा भई मन्त्रालयमा आउँदैछन् । तीमध्ये १३ जना आइसकेका छन् । अहिले ती सबै खाली छन् । काम पाएका छैनन् ।

    निमित्त भई काम विभिन्न आयोजना कार्यालयमा नियुक्ति पाएका ५ जना ती कर्मचारी निकै पहुँचवाला र शक्तिशाली मानिन्छन् । जनकपुरमा विनोद यादव गएपछि त्यस कार्यालय उनीभन्दा ३ जना कर्मचारी वरिष्ठ थिए । यादव त्यहाँ पुगेपछि वरिष्ठ मानिएका ती ३ जना कर्मचारी त्यहाँबाट अन्य कार्यालयमा सरुवा हुन बाध्य भएका थिए । तीन जनालाई पन्छाएर विनोद जनकपुर पुगेका थिए ।

    यसैगरी नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको सिफारिसमा नेपालगञ्जमा आचार्य टिकिरहेका छन् । उनलाई सिंहका स्वकीय सचिव युपीले ढाडस दिइरहेका छन् । सुमन मिश्र सधैं सेटिङ गरी बढी बजेट र आकर्षक मानिएका आयोजना कार्यालयहरु सरुवा हुने गरेका छन् । इञ्जिनियर भए पनि उनी सधैं उपसचिवको ठाउँमा निमित्त भई काम गर्दै आएका छन् ।

    नवलपुरमा नयाँ सदरमुकाम बनाउनेसम्मको जिम्मेवारी पाएका चितवनका आयोजना प्रमुख झपट थापाले काम गर्न सक्दैनन् भन्ने मन्त्रालय र भवन विभागमा सबैलाई थाहा छ तैपनि उनलाई टिकाउने काम युपीले गरिरहेका छन् । झपट अर्को बर्षबाट अवकाश पाउँदैछन । जाने बेला कमाउने उनको दाउ छ । जसमा युपीले साथ दिएका छन् ।

    युपी यतिसम्म पहुँचवाला मानिन्छन् कि उनले प्रशासन महाशाखा प्रमुख बिनु वज्राचार्यलाई मन्त्रालयबाट सरुवा गराई उनको ठाउँमा नारायण मैनालीलाई ल्याउन सफल भएका छन् । जबकि मन्त्री सिंहका अर्का स्वकीय सचिव उज्ज्वल बज्राचार्यसँग बिनुको नाता पर्छ । मैनाली निजामती प्रशासनमा छवि राम्रो नभएका भनेर चिनिन्छन् ।

    अधिकृत भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उनले अर्का विवादित पात्र ल्ह्यार्केल लामासँग मिलेर थुप्रै तिब्बती नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेको थियो । ५० को दशकमा ल्ह्यार्केलले प्रजिअ कार्यालयमा ल्याएर नागरिकता बनाउने र अमेरिका पठाउने गोरखधन्दा नै चलाएका थिए । जसलाई मैनालीले साथ दिएका थिए । ल्ह्यार्केल लामा अहिले लुम्बिनी विकास कोषका उपाध्यक्ष छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार