काठमाडौं । साढे ५ बर्षअघि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके कुमार घैंटेको समूहका अनुराग कुँवरको जन्मदिनको भोजमा पूर्वडीआइजी रमेश खरेलदेखि बहालवाला एसपी सोमेन्द्रसिंह राठौरसम्म पुगेका छन् । आफूलाई नागरिक अगुवाका रुपमा चिनाउने पूर्वडीआइजी खरेल पनि घैंटेका सहयोगी कुँवरको पार्टीमा दम्पत्तिसहित पुगेका थिए । एसपी राठौर त प्रहरी पोशाकमै सहभागी थिए ।
शुक्रबार आयोजित अति नै खर्चिलो कुँवरको भोजमा नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईदेखि लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने पनि सहभागी थिए । कुँवरको जन्मदिनको पार्टीमा कलाकार निर शाह, निर्मल शर्मा गैंडा, किरण केसी, राजाराम पौडेल, दीपाश्री निरौला लगायत पनि थिए । कुँवरलाई जन्मदिनको शुभकामना दिन जाने होडबाजी नै चलेको देखिएको थियो ।
प्रहरी सेवामा हुन्जेल गुण्डानाइकेबिरुद्ध कडा रुख अपनाएका र अवकाश भएपछि भ्रष्टाचार र गुण्डागर्दी प्रवृत्तिको बिरोधमा नागरिक अगुवाको रुपमा देश दौडाहा गर्दैआएका पूर्वडीआइजी खरेल पनि कुँवरको भोजमा जानुलाई आश्चर्य मानिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा रवि लामिछानेलाई प्रहरीले हिरासतमा राखेपछि रिपोर्टर्स क्लब नेपालमा २०७६ भदौ ७ मा आयोजित पत्रकार सम्मेलनमा अनुराग कुँवरले उनी निर्दोष रहेको भन्दै बोलेका थिए । त्यही गुन तिर्न लामिछाने उनको जन्मदिनमा पुगेका हुन् भन्ने गरिन्छ ।
को हुन् अनुराग कुँवर ?
अनुराग कुँवर अनुराग कुँवर प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैटे’ का सहयोगी थिए । २०७२ भदौ ३ मा सामाखुसीको कपुरधारा व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र घैंटेको समूहबीचको भिडन्तमा उनी मारिएका थिए । जुन समयमा अपराध अनुसन्धान महाशाखाको प्रमुख सर्वेन्द्र खनाल थिए । जो पछि आइजीपी भए । इन्काउन्टरमा घैंटे मारिएपछि उनको पैसामा दर्जनौं व्यक्तिहरुले मस्ती गर्दै आइरहेका छन् । यसरी मस्ती गर्नेमध्येका एक हु्न् अनुराग कुँवर ।

घैटे मारिएपछि कुँवर एकाएक कलाकार बनेका थिए । गुण्डागर्दीको आफ्नो रुपलाई पखाल्न र घैटेको अबैध पैसालाई चलचित्रमा लगानी गरेर कुँवरले आफूलाई चोखो साबित गर्न खोजिरहेका छन् । त्यसैको लागि उनले सेलिब्रेटी बोलाउँदै जन्मदिन मनाउँदैआएका छन् । प्रहरी स्रोतका अनुसार कुँवर अहिले पनि प्रहरी निगरानीमा परेका गुण्डा हुन् भने उनले क्यासिनोमा मिटरव्याजमा लगानी गरेर कमाएको अबैध पैसालाई चलचित्र क्षेत्रमा लगानी गरेका छन् ।
कुँवरले कुमार घैंटेसँग तीन करोड रुपैयाँ लिएर विभिन्न व्यक्तिहरुलाई चर्को ब्याजमा लगानी गरेका थिए । तर, घैंटेको मृत्युपछि सोही तीन करोड रुपैयाँ र त्यसबाट उठेको ब्याजसमेत गर्दा करिब ७ करोडको सम्पत्ति जोड्न सफल भएको उनी निकट व्यक्तिहरु बताउँछन् ।
काठमाडौं साङ्लेखोला स्थायी घर भएका कुँवर एक सामान्य परिवारका व्यक्ति हुन् । घैंटे इन्काउन्टरमा मारिनुभन्दा पहिले सोही समूहमा आबद्ध भएका कुँवर पछिल्लो समय सामाखुसी क्षेत्रमा हुने गुण्डागर्दी र असुलीका धन्दामा पर्दा पछाडि बसेर कारोबार चलाउँदै आएको प्रहरी स्रोत वताउँछ ।

कुँवरलाई जन्मदिनको शुभकामना दिंदै एसपी सोमेन्द्रसिंह राठौर
केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका कुँवरले पछिल्लो समय केही व्यापारी र केही फिल्मकर्मीहरुलाई मिटरब्याजमा पैसा लगानी गर्दै आएका छन् । करिब १५ वर्ष अगाडि चाबहिलस्थित गोपीकृष्ण चलचित्र नजिकै अनुरागले चलाएको मोटरसाइकलले ठक्कर दिँदा नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रबहादुर सिंहका भाइ वरुणबहादुर सिंहको मृत्यु भएको थियो । सो घटनापछि उनी केही वर्ष सिंगापुर पलायन भएका थिए ।
पछि नेपाल फर्केर घैंटे समूहमा आबद्ध भएका उनी घैंटे इन्काउन्टरपछि चर्चित गुण्डानाइके चक्रे मिलनको संरक्षणमा अवैध धन्दा सञ्चालन गर्दै आएका छन् । एक उच्च प्रहरी अधिकारीका अनुसार घैंटेले इन्काउन्टरमा मारिनुभन्दा पहिले नै अत्याधुनिक हतियार कुँवरलाई राख्न दिएका थिए । जब घैंटे प्रहरी कारबाहीमा मारिए, त्यसपछि कुँवरले उक्त हतियार गायब बनाएको सुराक अपराध महाशाखाका अधिकारीहरुलाई पनि पुगेको थियो । प्रहरीका अनुसार उक्त हतियार अहिलेसम्म पनि भेटिएको छैन ।

कुँवरलाई शुभकामना दिंदै रमेश खरेल
कुनै समय बिहान बेलुकाको छाक टार्न समेत मुस्किल पर्ने उनले उक्त दिन जन्मदिनको अवसर भन्दै असहाय वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेका थिए । कुमार घैंटेको अवैध सम्पत्ति हत्याएपछि उनले ललितपुरको हात्तीवनमा एउटा अपार्टमेन्ट खरिद गरेका छन् । त्यस्तै, हास्यकलाकार निर्मल शर्मा ‘गैंडा’ सँग मिलेर नारायणहिटीको उत्तरढोका नजिकै एक रेस्टुरेन्ट सञ्चालन गरेका थिए ।