काठमाडौँ । लापरबाहीपूर्ण तरिकाले चलाएको टिपरले किचेर मानिसको मृत्यु हुने क्रम फेरि बढ्न थालेको छ । बुधबार राति काठमाडौंको चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा ४ ख २५७७ नम्बरको टिपरको ठक्करबाट बुधबार राति दुई पैदलयात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौँ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई चन्द्रागिरि–१२ गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । दुर्घटनामा संलग्न टिपर र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केही दिनअघि गोंगबु बानियाँटारमा टिपरको ठक्करबाट स्कुटर चालक रामप्रसाद त्रिपाठीको घटनास्थलमै मृत्यु भएको थियो । टिपर आतंकले दैनिकसो मानिसको अकालमा ज्यान जान थालेपछि सरकारले राति ८ बजेपछिमात्र काठमाडौं उपत्यकामा चलाउन दिने निर्णय गरेको थियो । तर निर्माण ब्यवसायीको दबाबका सामु सरकार फेरि झुक्यो । र, त्यो निर्णय फिर्ता लियो ।