Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कराेडाैँकाे भ्रष्टाचार गर्ने निमित्त प्रमुखसहित ५ जनाविरूद्ध मुद्दा दायर


    बिहिबार, पुष १६ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन आयोजना कार्यान्वयन ईकाइका निमित्त आयोजना प्रमुखसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बिहीबार विशेष अदालत, काठमाडौंमा आयोजना प्रमुख वेलबहादुर नेपालीसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो।

    अख्तियारले आयोजना प्रमुख नेपाली, तत्कालीन लेखा अधिकृत नारायणबहादुर थापा, श्यामबहादुर खत्री, तत्कालीन लेखापाल गिरीप्रसाद श्रेष्ठ र जोङडिङ इन्टरनेसनल इन्जिनियरिङ को. लि (जेटआइइसी)का अख्तियारनामा प्राप्त सुमित रौनियारविरूद्ध आरोपपत्र दायर गरेको हो।

    उनीहरूविरूद्ध एक करोड १४ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। काठमाडौंको टेकुस्थित निर्माणधीन पुलको निर्माण जोङडिङ इन्टरनेसनल इन्जिनियरिङ को. लि (जेटआइइसी)-पप्पु जेभीले गरेको थियो।

    सो पुल सम्झौता बमोजिम शर्त/मापदण्ड, स्वीकृत डिजाइन तथा स्पेसिफिकेसन बमोजिम निर्माण नगरेकोले आयोजनाले काम रोकी त्रुटि सच्याउन पत्राचार भएको थियो। तर त्यसका बाबजुद पनि निर्माण व्यवसायीले निर्देशनको बेवास्ता गरी पुल निर्माण अघि बढाएको भन्ने उजुरी परेको प्रवक्ता अधिकारीले जानकारी दिए।

    सो उजुरीमाथि अनुसन्धान हुँदा आयोजना प्रमुख नेपालीले ठक्काअन्तर्गत कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सके पनि आयोजना ईकाइको तर्फबाट आफैंले टिप्पणी उठाएका थिए। टिप्पणी उठाएर ठेक्काको तेस्रोपटकका लागि म्याद थप सिफारिस गरेको र सोही सिफारिसको आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा गरी सरकारलाई हानी नोक्सानी पुर्‍याएका थिए।

    त्यसैगरी लेखाअधिकृत नारायणबहादुर थापा, श्यामबहादुर खत्री, तत्कालीन लेखापाल गिरीप्रसाद श्रेष्ठ र सुमित रौनियारले पनि हानीनोक्सानी गरेको पाएपछि आरोपपत्र दर्ता गरेको हो। त्यस्तै जेटआइइसीका प्रतिनिधि जेङ जुन्यानका प्रतिनिधि विदेशी नागरिक भएकोले नेपालमा फेला परे कानूनबमोजिम थप आरोपपत्र पेश गर्ने प्रवक्ता अधिकारीले बताए। अख्तियारले बिगो रकम कायम गरी आठ देखि १० वर्षसम्म कैद सजाय दिन मागदाबीसहित पत्र दायर गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार