काठमाडौं । नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो ।
तुलनात्मक रूपमा सस्तो र सामान्य फ्रिजको तापक्रममा समेत सुरक्षित राख्न सकिने भएकाले यो खोपको प्रतीक्षा विश्वव्यापी रूपमा रहेको छ ।
यो खोपले बेलायतमा मात्र पहिलोपटक प्रयोग अनुमति पाएको हो । बेलायतको सख्त नियामक निकायले अनुमति दिइसकेको अवस्थामा अन्य देशका नियामक निकायले यसलाई अनुमति दिन सजिलो हुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती बताउँछन् ।
‘यो अत्यन्त खुसीका कुरो हो,’ डा. उप्रेतीले भने, ‘एमएचआरएको अनुमति विश्व स्वास्थ्य संगठनले दिएबराबर मानिन्छ ।’ बेलायतले यो खोपको १० करोड डोजको अर्डर गरिसकेको छ । त्यसअन्तर्गतको ४० लाख डोज केही दिनमा उपलब्ध हुने बेलायती दैनिक गार्जियनको अनलाइन संस्करणले जनाएको छ ।