Nepal Face
  • आइतबार, १० साउन २०८३
  • व्यापारीले किनेको ज्याकेट बोकेर एसपी, सीडीओ र डिआइजी पुगेपछि …


    सोमबार, माघ १४ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर ।  पहिले-पहिले व्यापारीहरू भन्थे – पुलिसले इन्धन मागेर हैरान पार्छन् ।

    २०६६-६७ सालताका तत्कालीन पूर्वक्षेत्रका डिआइजी भीष्म प्रसाईंले त खुलेरै व्यापारीलाई तेल मागेका थिए ।

    हिजोआज त्यसरी खुलेरै माग्ने प्रचलन प्रहरीले त्याग्दै गएका छन् । अहिले पुलिसले तेल मागेर हैरान पारे भनेर स्थानीय तहका सरकारले गुनासो गर्ने गरेका छन् ।

    तर, लुकिछिपी प्रहरीले व्यापारीसँग केही न केही मागेकै हुन्छन् । कोशी प्रदेशको राजधानी विराटनगर पुग्ने जो कोही सुरक्षा अधिकारीलाई सबैभन्दा पहिले स्वागतका लागि व्यापारीहरूले आफ्नै कार्यालयमा बोलाउँछन्, फूलमाला र खाता ओढाइहाल्छन् ।

    सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ व्यापारीले किनेको ज्याकेट बोकेर सर्वसाधारणलाई भेट्न पुग्यो । बहाना ‘चिसो’ बनाएर ।

    मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ का अल्पसंख्यकलाई व्यापारीले किनिदिएको ज्याकेट बाँड्न मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारी र मोरङका एसपी नारायण चिमरिया पुगेका थिए ।

    ‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम लिएर पुगेका सुरक्षा अधिकृतहरूलाई ज्याकेट गोरधनदास कमलावति परोपकारी प्रतिष्ठान विराटनगरका अध्यक्ष तथा उद्योगपति जगदीश अग्रवालले दिएका थिए ।

    व्यापारी अग्रवालले दिएको ज्याकेट मिक्लाजुङका ८० घरधुरीलाई बाँडिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

    कार्यक्रममा दलका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, संघ-संस्था, पत्रकार, भद्र भलादमी, बुद्धिजीवी, समाजसेवी र स्थानीय गरी ८० जनाको उपस्थिति रहेको जोशीले बताए ।

    डिआइजी अधिकारी भर्खरै कोशी प्रदेश प्रमुख भएर पुगेका छन् । प्रमुख जिल्ला अधिकारी यादव पनि भर्खरै मोरङ गएका हुन् । चिमरिया भने गत कात्तिक महिनादेखि मोरङमा कार्यरत् छन् ।

    कार्यक्रमको नाम ‘सामुदाय प्रहरी साझेदारी’ राखिएको थियो।  नि:शुल्क ज्याकेट बितरकको नाम भने विशाल ग्रुप लेखिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार