काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीसँग सेटिङ गरी भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाउने क्रम पछिल्ला दिनमा झन् बढेको छ । भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाउने समूहले प्रतिब्यक्ति ६५ हजारदेखि ८५ हजार रुपैयाँसम्म लिएर सोमबार मात्रै ३ सय भन्दा बढी कामदारलाई संयुक्त अरब इमिरेट्स(युएई) उडाउने गरी सबै सेटिङ मिलाएका छन् । साँझ ७ बजेको फ्लाई दुबई, ९ बजेको एयर अरेबिया, आरए र राति २ बजेको एयर अरेबियाको विमानबाट दुबईमा बैदेशिक रोजगारीमा पठाउनेगरी अध्यागमनसँग सेटिङ गरी ३ सय युवाहरु बैदेशिक रोजगारीका लागि दुवई उडाउने तारतम्य मिलाइएको थियो । श्रम स्वीकृति नखोलेका कारण नेपालबाट विदेशमा रोजगारीमा जाने क्रम बन्द छ ।
श्रम स्वीकृति सरकारले नखोलेका कारण अध्यागमनका कर्मचारीले प्रतिब्यक्ति ८५ हजार रुपैयाँसम्म लिएर दुवईमा भिजिट भिसामा पठाउने गरेका छन् । यसरी भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाउने गरेकोबारेमा नेपालफेसले समाचार सार्वजनिक गरेपछि गृहमन्त्रालयले उपसचिव रुद्र पण्डितको अध्यक्षतामा छानबिन समिति बनायो । पण्डित समितिको प्रतिवेदन नआउँदै गृहले अध्यागमनका १५ अधिकृतलाई तान्यो । त्यसपछि केही दिन भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाउने क्रम बन्द भयो । तर केही दिनदेखि पुनः अध्यागमनका कर्मचारीको मिलेतोमा भिजिट भिसामा बैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । आज राति मात्रै ७, ९ र २ बजेका उडानबाट ३ सय कामदार भिजिट भिसामा दुवई जाने गरी अध्यागमनका कर्मचारीले सेटिङ गरेका छन् । ९ बजेको एयर अरेबियाको उडान त भिजिट भिसामा बैदेशिक रोजगारीमा जानेहरुकै लागि राखिएको तथ्य खुलेको छ । नियमित उडान नभए पनि भिजिट भिसामा बैदेशिक रोजगारीमा जानेहरुका लागि उक्त उडान राखिएको स्रोतले बताएको छ ।
नेपालफेसका संवाददाता विमानस्थलमा साँझ जाँदा बैदेशिक रोजगारीका लागि दुवई जान लागेका युवाहरुसँग भेट भयो । उनीहरु हतारमा देखिन्थे । दुवईमा जानेहरुलाई दलालहरुले भिजिट भिसामा घुम्न लागेको भन्न सिकाए पनि उनीहरुको अवस्थाले पनि बैदेशिक रोजगारीमै जान लागेको सहजै अनुमान लगाउन सकिन्थ्यो । उनीहरुको अवस्था हेर्दा उनीहरु घुम्न जाने हैसियतका होइनन्, ५ बर्ष दुवईमा बसेर आएको र फेरि बाध्यताका कारण भिजिट भिसामा जानुपरेको प्रतिक्रिया पनि उनीहरुले दिएका छन् । यसरी भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेको अध्यागमनका कर्मचारीलाई थाहा भए पनि सेटिङमा एक जनाबराबर ८५ हजार रुपैयाँसम्म घुस लिएका कारण खुरुखुरु उड्ने गरेका छन् ।
यसरी भिजिट भिसामा बैदेशिक रोजगारीमा पठाइएकोबारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गौलोचन संंैजुसँग सम्पर्क गर्दा उनी केही दिनदेखि बिदामा बसेको र निमित्त प्रमुख सुशील बैद्यले सम्हालेको जानकारी दिइयो । निमित्त प्रमुख बैद्यसँग सम्पर्क गर्दा मन्त्रालय र विभागले स्पष्ट निर्देशन दिएको छ, भिजिट भिसामा बैदेशिक रोजगारीमा जानेहरुलाई रोक्नू । त्यही अनुसार आइतबार १ सय ५० जना बैदेशिक रोजगारीमा जान लागेको आशंकामा फर्कायौं । आज पनि साँझ ७ बजेको फ्लाई दुबईमार्फत् जान लागेका २२ जना फर्काइसकेका छौं । केही मानिस गएका पनि छन् । नाता खुलेको मानिसलाई पठाएका छौं । भिजिट भिसामा बैदेशिक रोजारीमा गएको शंका लागेमा फर्काउन निर्देशन छ, हामीले फर्काइरहेका छौं, बैद्यले भने, हामीले जानेबुझेसम्म त्यसरी जान खोजेका मानिसलाई फर्काएका छौं ।