Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बुढानीलकन्ठमा खरानी समूहको जुवा अखडा, इन्स्पेक्टर खत्रीको संरक्षण


    मंगलबार, माघ ८ २०८१
    3.4K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको मूल मन्त्र रहेको छ–सत्य सेवा सुरक्षणम् । तर कतिपय प्रहरीले यो मन्त्रको मर्म र भावनाबिपरीत असुलीलाई नै मूल मन्त्र बनाएका छन् ।  नेपाल प्रहरीले जहाँ खटायो, त्यहीँ असुलीमा विवादित प्रहरी निरीक्षक(इन्स्पेक्टर) सुुरेश खत्री पछिल्लो पटक बुढानीलकन्ठ प्रभागको इन्चार्ज भएका छन् । बुढानीलकन्ठ प्रभागको इन्चार्ज भएपछि इन्स्पेक्टर खत्रीले असुली अभियान नै चलाएका छन् । खरानीका नामले कुख्यात राजकुमार अधिकारीले पछिल्ला दिनमा बुढानीलकन्ठमा निर्धक्क जुवा खेलाउने गरेका छन् ।

    काठमाडौं उपत्यकामा ठाउँ फेरी फेरी जुवा अखाडा चलाउने खरानी ग्याङका अधिकारी काठमाडौं उपत्यकाका सबै प्रहरी कार्यालयले खोजी गरिरहेका ब्यक्ति हुन् । कहिले काठमाडौं त कहिले ललितपुर र भक्तपुरमा करोडौंको जुवा खेलाउँदैआएका राजकुमारले खत्रीसँग सेटिङ गरी पछिल्ला दिनमा बुढानीलकन्ठमा जुवा अखाडा संचालन गर्दैआएका छन् । मासिक दररेट बुझाउने गरी इन्स्पेक्टर खत्रीको संरक्षणमा खरानीले जुवा अखाडा संचालन गर्दैआएका छन् । ठाउँ फेरी फेरी जुवा खेलाउने राजकुमार अधिकारी ‘खरानी’ पटक पटक पक्राउ परेका पटके हुन् ।

    इन्स्पेक्टर खत्री अति नै विवादित प्रहरी हुन् । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) मा कार्यरत रहँदा उनी ६० किलो सुन तस्करीमा मुछिएका जीवन चलाउनेदेखि वाल्डो क्यासिनोका संचालक चिनियाँ नागरिक टेरेन्स टीएचसीको मोवाइल २ दिनसम्म जफत गरी मोलमोलाई गरी छाडेपछि उनी भाग्न सफल भएका थिए । अझै उनी फरार सूचीमा छन् । सुन जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही सिफारिस गरेको छ । चलाउनेदेखि वाल्डो क्यासिनोका मालिक टीएचसीलाई भगाउने क्रममा ठूलो आर्थिक चलखेल भएको थियो । टीएचसीसँग डिल गरी लेनदेन गर्ने नै खत्री रहेको स्रोतको दाबी छ ।

    एआईजी बज्राचार्यले सुरेश खत्रीलाई पीए राखी विभिन्न केसमा सेटिङ गर्न लगाउने गरेको खुलेपछि उनीहरुलाई पछि आएका सीआईबी प्रमुख श्यामलाल ज्ञवालीले सरुवा गरेका थिए ।
    इन्स्पेक्टर सुरेश खत्री असई हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । विमानस्थलमा हुँदा नै उनी भिजिट भिसा सेटिङदेखि तस्करसँग कनेक्सन मिलाएर अकूत सम्पत्ति कमाउन सफल भएका थिए । इन्स्पेक्टर भएपछि काभ्रेमा पदस्थापन भई मुद्दा शाखामा बसे । काभ्रेमा आर्थिक चलखेल गरेको खुलेपछि कारबाहीमा परी मुद्दा शाखाबाट हटाइएका थिए ।

    बालुवा तस्करहरुसँग मिलेको, दुर्घटना वीमा दाबी गर्दा घुस विना सिफारिस नलेख्ने जस्ता हरेक केसमा उनले सेवाग्राहीलाई सास्ती दिएर लेनदेन गर्ने गरेको आरोप लागेको थियो । वर्तमान आईजीपी बसन्तबहादुर कुँवरले प्रहरी प्रवक्ता हुँदा प्रहरी प्रधान कार्यालयको उजुरी शाखामा पटक पटक उजुृरी परेपछि उनलाई कारबाही गर्न खोजेका थिए । कुँवरले कारबाही गर्न खोजे पनि उनलाई रामेछापको टोकरपुर इप्रकामा सरुवा गरिएको थियो । उनले त्यहाँ नजान निकै शक्ति लगाए पनि आखिरमा जानुपरेको थियो ।

    काभ्रेमा कार्यरत हुँदा खत्रीले घुस मागेको अडियो नै तत्कालीन एसपी रवि पौडेलले फेलापारेका थिए । तर उनको जागिर जाने भएपछि पौडेलले उक्त अडियो सार्वजनिक हुनबाट रोकेका थिए । आईजीपी कुँवरले काभ्रेमा उनको असुलीको अडियो नै आएपछि कारबाही गर्न खोजेका थिए । तर शक्तिकेन्द्र गुहारेर उनी जोगिएका थिए ।

    टोकरपुर इप्रकामा केही महिना बसेपछि उनी सीआईबीमा आए । सीआईबीमा आएपछि गम्भीर अपराध सम्बन्धी अनुसन्धान हुने पिलरमा बसेर सूचना चुहाई अपराधीलाई भगाएको आरोपमा उनलाई कारबाही गर्न खोजिएको थियो । तर सीआईबीको प्रमुखमा एआईजी बज्राचार्य आएपछि उनीमाथि कारबाही त भएन नै, झन् पुरस्कृत गरी पीए पो बनाइएका थिए । एआईजी बज्राचार्यको पीए बसेपछि उनको असुलीको नसा बढ्दै गयो ।

    सीआईबीमा आउने हरेक केसहरुमा मोलमोलाइ गर्न र उपत्यकाका बृत्तहरुमा समेत गई एआईजीको पीएको तुजुक देखाएर मोटो रकम असुली गर्ने गरेको आरोप खत्रीमाथि लागेको थियो । बज्राचार्यको पालामा सीआईबीको साख गिर्नुमा अपराध अनुसन्धानमा पोख्त अधिकृतलाई भन्दा खत्री जस्तै आर्थिक लेनदेनमा लिप्तहरुलाई लानु नै मानिएको छ ।

    बर्तमान आईजीपी बसन्तबहादुर कुँवरलाई खत्रीले सीआईबीको नाममा गरेका आर्थिक लेनदेनका सबै जानकारी भए पनि कारबाही गर्न त सकेनन् नै, उल्टै बुढानीलकन्ठ जस्तो महत्वपूर्ण प्रभागको इन्चार्ज बनाउन बाध्य भए ।

    गृहमन्त्री रमेश लेखकका पूर्व निजी सचिव जनक भट्टको चर्को दबाबमा आईजीपी कुँवरले उनलाई बुढानीलकन्ठ प्रभागमा सरुवा गरेका थिए । भट्टलाई नजराना बुझाएर खत्रीले आईजीपीमाथि दबाब दिई बुढानीलकन्ठ प्रभागको प्रमुख भएका थिए । भट्टले प्रहरी र सशस्त्रका सरुवामा रकम उठाएको सूचना पाएपछि गृहमन्त्री लेखकले उनलाई हटाएर बद्री तिवारीलाई निजी सचिव बनाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार