काठमाडौं। हाल नेपालमा उत्पन्न राजनितिक उतरचडाव र यसका कारण बुझ्न छिमेकी देश चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ । संसद विघटन र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजनपछिको परिस्थिति बुझ्न छिमेकी देश चीनका उपमन्त्री गुओसहितको टोली काठमाडौं आइपुगेको हो ।
एयर चाइनाको चार्टर्ड विमानबाट चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं ओर्लिएको हो । टोलीले चिनियाँ राष्ट्रपतिको सन्देश लिएर आएको हो ।काठमाडौं विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पीपीई लगाएर आएका थिए ।
काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ । कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ । चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन ।
चिनियाँ अधिकारीहरुको टोली चार दिन नेपालमा रहेने र राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षदद्धय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने जनाइएको छ ।