Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडामा पनि चुनाव नजित्नेहरु ओली सरकारका मन्त्रीः पटक पटक चुनाव जित्नेहरुकै अपमान


    आइतबार, पुष १२ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद बिस्तारमा साविक एमालेका जनाधार भएका नेताहरुलाई मन्त्रीमा स्थान दिएनन् । बरु वडामा पनि चुनाव नजित्ने गौरीशंकर चौधरीलाई श्रम र मणि थापालाई खानेपानी मन्त्री बनाए । शाही शासनमा ज्ञानेन्द्र शाहले निक्षशमशेर राणालाई टिपेर ल्याएजस्तै ओलीले दावा लामा, मणिचन्द्र थापा र गौरीशंकर चौधरीलाई क्रेनले तानेर मन्त्री बनाएका छन् ।  २०७४ को चुनावी लहरमा पनि प्रदेशसभामा चुनाव जित्न नसकेका दावा लामालाई खेलकुद मन्त्रालय सुम्पिए । अघिल्लो दिनसम्म ओलीको कदमको बिरोधमा रहेका प्रभु साह र गौरीशकर चौधरीलाई मन्त्री बनाएर पूर्वमाओवादी छिन्नभिन्न बनाएको आत्मरति लिइरहेका छन् । 

    पटक पटक जनादेश पाएका तेह्रथुमका बिजय सुब्बा, मोरङका घनश्याम खतिवडा, खोटाङका विशाल भट्टराई, भक्तपुरका महेश बस्नेत, मकवानपुरका कृष्णप्रसाद दाहाललाई स्थान दिएनन् । पटक पटक चुनाव जितेका र स्थानीय चुनावमा विपक्षी पार्टीलाई नै ‘क्लीनस्वीप’ गरेका धनकुटाका राजेन्द्र राई उनको मन्त्रिपरिषदमा अटाउन सकेनन् । बागलुङका सूर्यप्रसाद पाठक, पर्वतका पदम गिरी, रुपन्देहीका खिमलाल भट्टराईलाई पनि ओलीले मन्त्री बनाएनन् ।

    ओली निकट यी सांसदहरु जनताबाट पटक पटक निर्वाचित हुन् । तर ओलीले पुष्पकमल दाहालसँगको इगो साधना गर्नकै लागि वडामा पनि चुनाव नजितेका मणि थापाजस्तालाई मन्त्री बनाएर जनमतकै अपमान गरेका छन् । मोरङका घनश्याम खतिवडालाई उनले यो पटक मन्त्रिपरिषदमा स्थान दिने भने तर त्यो आश्वासनमै सीमित भयो ।

    ओलीले पटक पटक चुनाव जितेका सांसदलाई त मन्त्री बनाएनन् नै । तर पछिल्लो प्रतिनिधिसभामा निर्वाचित सांसदहरु लालप्रसाद साँवा, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भूपेन्द्रबहादुर थापा, नन्दलाल रोका क्षेत्री, रविन्द्रराज शर्मा, लालबहादुर थापा, नारदमुनि राना, नरबहादुर धामी, भैरवहादुर सिंहलाई नै बनाएको भए पनि जनादेशको सम्मान हुनसक्थ्यो । तर ओलीले पटक पटक जनताबाट निर्वाचित आफ्नै निकट सांसदलाई मन्त्री नबनाई प्रचण्डको शेखी झार्न मणि थापा, गौरीशंकर चौधरी र दावा लामाजस्ता हैसियतविहीनलाई मन्त्री बनाउनु सौताका रिसले पोईको काख फोहोर गरेजस्तै हो ।

    ओलीले कहिल्यै चुनाव नजितेका पूर्वमाओवादीहरुलाई मन्त्रीमा बिराजमान गराउनुभन्दा बरु उनकै निकट राजनीतिमा निरन्तर लागेका त्यागी नेता काशीनाथ अधिकारीलाई नै बनाएको भए उनीप्रति न्याय हुनसक्थ्यो । तर प्रतिशोधको अग्निमा जलेर उनले जस जसलाई मन्त्री बनाए, त्यसले उनकै निकट नेताहरुलाई समेत निराश बनाउने काम गरेको छ । भलै त्यो निराशा सार्वजनिक रुपमा अहिलेसम्म कसैले पनि प्रकट गरेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार