Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ड्रमको सहारामा कर्णाली नदीमा जीप तारेर पालिका पुर्याइयो


    आइतबार, पुष १२ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मार्तडी । जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका तीन वडामा सडक पुगेकाले यातायातका साधन नहुँदा हिँडेर नै सेवा लिन आउने नागरिकलाई सहजताका लागि यातायात सञ्चालन गर्ने गरी जीपलाई ड्रममा राखी चढाएर नदीमा तारिएको हो ।

    स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा समेत गाउँपालिकामा हालसम्म सवारी साधन पुग्न सकेको छैन । कर्णालीपारिको एक मात्र गाउँपालिकामा हालसम्म यातायात पुग्न नसकेको र त्यहाँका जनताले निकै सास्ती भोगेको समस्यालाई मध्यनजर गरी कर्णाली नदीमा ड्रमहरूमा जीपलाई चढाएर पारि तारिएको हो । “नदीमा जीप तार्न सहज नभए पनि जोखिम मोलेर तारियो”, अध्यक्ष शाही भन्नुभयो, “सुईजिउला कर्णाली नदीमा फेरी निर्माण गर्ने गरी डिपिआर तयार भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सकिएको छैन, केही उपाय नलाग्दा ठूला ड्रमहरुमा बाँधेर जीप पारि लगिएको हो ।” गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा सडक सञ्जालले जोडिएको छ ।

    साविकको वाई र जुकोट गाविसमा सडक निर्माण भइसकेको र साविकको साप्पाटा गाविस जाने सडक निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । शनिबार सु प प्र ००१ च २९४६ नम्बरको जीपलाई स्थानीयवासीले स्वागत गरेका थिए । स्वामीकार्तिक गाउँपालिका पूर्वमा कालिकोट र मुगु जिल्ला, पश्चिममा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ ।

    गाउँपालिकाको जनसङ्ख्या दुई हजार ४४२ घरधुरीमा १४ हजार ९०९ रहेको छ । गाउँपालिका साविकको साप्पाटा बस्ती लौठी, उपरगाउँदेखि साविकको वाई गाविसको मिगु अति दुर्गमका बस्ती हुन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार