दीपेन्द्र शाह र पूर्ण साउद
काठमाडौं । सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले मंसिर अन्तिममा सशस्त्रको महत्वपूर्ण शाखामा रहेका दुई एसपीको सरुवा गरेका छन् । बजेटका पूर्ण साउदलाई निलवाराही गण वलम्बुमा पठाइएको छ ।
निलवाराही गणका दीपेन्द्र शाहलाई सशस्त्र मुख्यालयको प्रबन्ध निर्देशनालयमा ल्याइएको छ । बजेट र प्रबन्ध सशस्त्रका ठेक्कापट्टा गर्ने ठाउँ हुन् । एसपी साउद विगत ८ वर्षदेखि बजेटमा थिए । उनी सशस्त्रका सबै ठेकेदारसँग कनेक्सन भएका र आर्थिक स्रोत जुटाउन सक्ने भएकाले बजेटमा हालीमुहाली गर्दै आएका थिए । उनलाई बलम्बु लगी १ वर्षपछि पुनः बजेटमै ल्याउने आश्वासन आइजीपी खनालले दिएको स्रोत बताउँछ ।
आईजीपी खनालले संगठनका टेण्डरदेखि आर्थिक सरोकारका सबै कामको जिम्मा आफ्ना अतिनिकट एसपी र इन्स्पेक्टरलाई दिने गरेका छन् । खनालका अतिनिकट प्रबन्धका एसपी दीपेन्द्र शाहको गतवर्ष निलवाराही गण बलम्बुमा सरुवा भयो । वलम्बुमा ६ महिना कार्यरत रहेपछि उनको सरुवा पुनः सशस्त्र मुख्यालयको प्रबन्ध निर्देशनालयमै भएको छ ।
आगामी माघमा आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी नेत्र कार्की अवकाश हुँदैछन् । माघसम्म शाह पनि एसएसपीमा बढुवा हुनेछन् । कार्की अवकाश भएपछि शाहलाई नै आर्थिक प्रशासनको जिम्मा दिने तयारी खनालको रहेको स्रोत बताउछ । आईजीपी खनालले सशस्त्रको ठेक्कापट्टा र लेखादेखि प्रशासनसम्म नै आफू निकटकालाई सेट गरेका छन् ।
आइजीपी खनालले केन्द्रीय लेखाको प्रमुखमा पदवहाली गर्नासाथ गणेशबहादुर मल्ललाई ल्याएका थिए । मल्लको काम देशभरीका एकाउन्टेन्टहरुबाट असुल्ने गरेको आरोप छ । आईजीपी खनालको काम चाहिं दैनिक गृहमन्त्री आसेपासेको चाकडी गर्ने, उनीहरुका लागि मदिरासहितको खानपानको व्यवस्था गर्नेमै बित्ने गरेको चर्चा सशस्त्र प्रहरीका अधिकृतहरुले गर्ने गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालका श्रीमान जीवन आचार्यको चाकडी गर्नु उनको दैनिकी भएको प्रचण्ड निवासमा सुरक्षाका लागि खटिएको स्रोतले बताएको छ ।