Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेडियो सुन्दै, ज्ञान बढाउँदै


    शुक्रबार, पुष १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बागलुङ। बरेङ गाउँपालिकाका विद्यार्थी हरेक शनिबार बिहान रेडियो बिहानी सुन्न आतुर हुन्छन् । पैँतालीस मिनेट चल्ने ‘विषयगत हाजिरीजवाफ प्रतियोगिता’लाई विद्यार्थीले सातादिन पर्खिन्छन् । कोही विजेता बन्ने होडमा प्रतियोगितामा भाग लिन्छन् । कतिले रेडियो सुनेरै पनि विषयगत ज्ञानको दायरा बढाउँछन् ।

    रेडियोसँगको सहकार्यमा गाउँपालिकाले थालेको उक्त प्रतियोगितात्मक कार्यक्रम छोटै अवधिमा प्रभावकारी बनेको छ । विद्यार्थीलाई स्वअध्ययनतर्फ प्रेरित गर्ने, प्रतिस्पर्धी भावनाको विकास गराउने, विषयगत शिक्षकलाई सक्रिय बनाउने आदि उद्देश्यले रेडियोमार्फत विषयगत हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा एक सातामा १० जना विद्यार्थीले भाग लिन्छन् । कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउँछन् । प्रतियोगितामा उत्कृष्ट हुनेलाई गाउँपालिकाले पुरस्कृत गर्छ ।

    टाढाका विद्यार्थी भएमा गाउँपालिकासम्म आउने यातायात खर्चसमेत प्रबन्ध गरिएको छ । “अर्को साता कुन विषयको प्रश्न सोधिन्छ भन्ने रेडियोबाट पहिले नै विद्यार्थीलाई जानकारी गराउँछौँ”, गाउँपालिकाको शिक्षा शाखाका अधिकृत सूर्यप्रसाद शर्माले भन्नुभयो, “विभिन्न तीन वटा विद्यालयका शिक्षकले प्रश्नावली तयार गर्नुहुन्छ ।” प्रश्नावली बनाए बापत शिक्षकलाई एक पटकमा रु १०० पारिश्रमिकसमेत दिने गरिएको छ ।

    त्यस्तो जिम्मा आलोपालो गरेर सबै विद्यालयका विषयगत शिक्षकले पाउँछन् । विद्यार्थीले फोनमार्फत प्रतियोगितामा भाग लिन्छन् । एक जना विद्यार्थीलाई पाँच प्रश्न सोध्ने गरिन्छ । शिक्षकले पढाएको पाठ्यक्रम भित्रैबाट प्रश्न सोधिन्छ । कार्यक्रम सञ्चालन रेडियोकै प्रस्तोताले गर्ने गरी प्रबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । कार्यक्रममार्फत स्थानीय सञ्चारमाध्यमको सदुपयोग र प्रवद्र्धनमा पनि टेवा पुगेको उहाँको भनाइ छ ।

    “विषयगत हाजिरीजवाफ एकदमै सफल र प्रभावकारी छ”, थापाले भन्नुभयो, “यसबाट विद्यार्थीको विषयगत ज्ञान वृद्धि त हुन्छ नै सँगै प्रतिस्पर्धी पनि बनाउँछ ।” शिक्षकलाईसमेत पेशाप्रति जिम्मेवार बनाउने र प्रोत्साहित गर्ने विश्वास लिइएको छ । गाउँपालिकाले कोरोनापछिको विषम स्थितिमा रेडियोबाट वैकल्पिक सिकाइ सहजीकरण, एसइई दिने विद्यार्थीका लागि तयारी कक्षा पनि सञ्चालन गरेको थियो ।

    समग्र शैक्षिक क्षेत्र सुधारका लागि ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम’ पनि सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत हालसम्म १७ वटा विद्यालयले गाउँपालिकासँगको साझेदारीमा आन्तरिक सुधारका काम गरेका छन् । ‘शिक्षक झोला’, परिचपयपत्र वितरणलगायतका कार्यक्रम पनि गाउँपालिकाले गर्दै आएको छ । गाउँपालिकामा ३५ सामुदायिक र एउटा संस्थागत विद्यालय सञ्चालित छन् ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार