Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • बढी भ्रष्टाचार स्थानीय तहमा


    शुक्रबार, पुष १० २०७७
    830
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ। आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।

    अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनर्फत सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन्। त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन्।

    भौतिक पूर्वाधार तथा यातायाततर्फ ३.५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६,

    अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन्। नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित ७.६३, गैरकानुनी सम्पत्ति आर्जनतर्फ ६.३७ र अन्य निकायसँग सम्बन्धित उजुरी १०.९४ प्रतिशत छन्।

    प्रदेशगत हिसाबले सबैभन्दा बढी प्रदेश २ मा २३.८७ प्रतिशत उजुरी दर्ता भएका छन्। संघीय राजधानी रहेको बागमती प्रदेशमा १९.५९, लुम्बिनीमा १०.७९ र सुदूरपश्चिममा ८.४४ प्रतिशत उजुरी परेका छन्। त्यस्तै, प्रदेश १ मा ९.८२, गण्डकीमा ५.३५ र कर्णालीमा ५.८२ प्रतिशत उजुरी दर्ता परेको आयोगका प्रवक्ता अधिकारीले बताए।

    अख्तियारले ०७६/७७ मा ६ सय ८७  विस्तृत अनुसन्धान गरेको छ। जसमा ४४१ (६४.२ प्रतिशत) मुद्दा दर्ता गरियो भने सम्बन्धित निकायलाई ११३ (१६.५ प्रतिशत) सुझावसहित लेखेर पठाइएको छ।  १२४ (१८ प्रतिशत) तामेलीमा र ९ वटा (१.३ प्रतिशत)  मुल्तबीमा राखिएको छ।

    ३० वर्षको इतिहासमा सबैभन्दा बढी मुद्दा

    आयोगले ०७६/७७ मा इतिहासकै सबैभन्दा बढी मुद्दा चलाएको छ। अख्तियारले ४ सय ४१ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ। जसमा घुसमा २०५, नक्कली शैक्षिक प्रमाणपत्रमा ८५, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानीमा ७५, गैरकानुनी लाभहानितर्फ ३६, राजस्व हिनामिनातर्फ १२, गैरकानुनी सम्पत्तिमा १८ र विविधमा १० वटा मुद्दा चलाइएको प्रतिवेदनमा छ। अख्तियारले स्थापनादेखि हालसम्मको अवधिमा २ हजार ८ सय ७८ मुद्दा चलाएको छ। जसमा औसतमा प्रतिवर्ष करिब ९६ वटा पर्छ।

    विशेष अदालतमा दायर भएका ४ सय ४१ मुद्दामा जम्मा १ हजार २ सय १२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूबाट २ अर्ब ५३ करोड ६६ लाख ९८ हजार २६८ रुपैयाँ बिगो मागदाबी गरिएको छ। यीमध्ये ३ मन्त्री, ९ विशिष्ट श्रेणीका कर्मचारी ९ र अधिकृत स्तरका ३५५, सहायक/सहयोगी कर्मचारी ४४०, निर्वाचित/मनोनीत पदाधिकारी ७० र मतियार/बिचौलिया/अन्य ३३५ जनामा छन्।

    प्रवक्ता अधिकारीले ७७० जना मतियार, बिचौलियासहित अधिकृत स्तरका रहेको बताए। ‘७७० अधिकृत स्तरका छन्, भने बाँकी ४४२ जना सहायकस्तरका कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ’, उनले भने।

    १ लाखसम्म बिगो भएका मुद्दा १५३ वटा छन् भने १ करोडभन्दा बढी बिगो भएका मुद्दा २९ छन्। अकुत सम्पत्ति आर्जनतर्फ १८ वटा मुद्दा गरी १ अर्ब ९ करोड ६१ लाख ९४ हजार बिगो मागदाबी गरिएको छ।

    सेवाग्राहीको घुससम्बन्धी उजुरीका आधारमा १८१ स्टिङ अपरेसन गरिएको थियो। त्यसमा २७७ व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान एवं अभियोजन गरिएको छ। जसमा विशिष्ट श्रेणीकादेखि सहायकस्तरसम्मका २०८ कर्मचारी १४ जना, निर्वाचित एवं मनोनीत पदाधिकारी तथा ५५ जना बिचौलिया तथा मतियार छन्।यो समाचार आजको अन्नपूर्णपोष्टमा सुरेन्द्र काफ्लेले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार