काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमालेबाट निष्कासित नेता भीम रावलले सञ्चालन गरेको ‘मातृभूमि जागरण अभियान’ लाई ‘औचित्यपूर्ण’ भन्दै शुभकामना दिएका छन् ।
‘क। झलनाथ खनालको सचिवालय’ नाम दिइएको ह्वाट्स एप ग्रुपमा शनिबार खनालले त्यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त ह्वाट्सएप ग्रुपका एड्मिन उनका स्वकीय सचिव कृष्ण भट्टराई हुन् ।
शुभकामना दिँदै खनालले लेखेका छन्, ‘उहाँ एउटा प्रबल देशभक्त नेता हो । उहाँका विचार, दृष्टिकोण र धारणाहरू मार्क्सवाद९लेनिनवादका वैज्ञानिक सिद्धान्तबाट नै बनेका छन् । त्यस्तो व्यक्तिलाई भर्खरै एउटा ‘कम्युनिष्ट पार्टी’ बाट निष्कासन गरिएको छ । अब उहाँ कसरी अघि बढ्नु हुन्छ ? त्यसले आकार लिन एउटा समय लाग्न सक्छ । केही दिन त पर्खेरै हेर्नै पर्छ ।’
रावलको पछिल्लो गतिविधिलाई केही व्यक्तिले ‘कम्युनिष्टको खोल उतारे’ भनी गरिएको टिप्पणीप्रति खनालले आक्रोश व्यक्त गरेका छन् । लेखेका छन्, ‘यो देशका बुर्जुवा नेता र आफूलाई कम्युनिष्ट नेता भन्नेहरू समेत एकपछि अर्को साम्राज्यवाद र प्रभूत्ववादका जालमा फसेर राष्ट्रघाती काम गरिरहेको वर्तमान अवस्थामा भीम रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्नु सर्वथा औचित्यपूर्ण देखिन्छ । कम्युनिष्टको खोल ओडेर साम्राज्यवादको दलाली गर्नु भन्दा मात्र देशभक्तिपूर्ण अभियान पनि प्रगतिशील हुन्छ । त्यसैले म कमरेड रावलको यो अभियानलाई अभिवादन गर्न चाहन्छु ।’
यस्तो छ खनालको शुभकामना संदेश :
क. भीम रावललाई शुभकामना
कमरेड भीम रावल ५० वर्षभन्दा लामो राजनीतिक इतिहास कम्युनिष्ट आन्दोलनमा बिताएर आउनु भएको नेता हो । नेकपा (एमाले) को निर्माण, विकास, विस्तार र समृद्धिमा उहाँको समेत महत्त्वपूर्ण भूमिका रही आएको हो ।
तर, उहाँलाई नै पार्टी सदस्यबाट समेत निर्ममतापूर्वक हटाइएको छ । त्यसले गर्दा उहाँ अहिले मातृभूमि जागरण अभियान सञ्चालन गर्न थाल्नुभएको छ ।
मलाई सम्झी सम्झी दुःख लागेर आउँछ । नेकपा (एमाले) निर्माण र विकासमा त्यो पार्टीको कार्यदिशा, नीति र सिद्धान्तहरू निर्माणमा, पार्टीका कार्यशैली र कार्यपद्धति निर्माणमा, त्यो पार्टीलाई देशको श्रमिक जनतासँग एकाकार बनाउने काममा, ठूल्ठूला जनसंघर्षहरू सञ्चालन र विकास गर्ने प्रक्रियामा र पार्टीभित्र उत्पन्न भएका अनेकौँ राजनीतिक-सैद्धान्तिक सवालहरूको समाधानमा हामी सबैले सँगसँगै भूमिका खेलेका थियौँ । नेकपा (एमाले) एउटा उदीयमान क्रान्तिकारी शक्तिका रूपमा विकसित भइरहेको थियो । जनता र राष्ट्रको आशाको केन्द्र बन्दै थियो ।
तर, पार्टीभित्र पछिल्लो कालमा त्यसको नेतृत्वले अघि सारेको दक्षिणपन्थी औसरवादी भड्काउने गर्दा त्यो पार्टी आफैँभित्र विवादग्रस्त बन्दै गयो । पार्टीभित्र गुटबन्दी, नीतिहीनता, पद्धतिहीनता, अराजकता, कमिसन खोरी, भ्रष्टाचार, नैतिक पतन जस्ता अकल्पनीय विकार र विकृतिले त्यो पार्टीलाई ग्रस्त गर्दै लग्यो । नेतृत्वमा रहेका विचलनहरूले पार्टी कार्यकर्ताहरूमा असन्तोष, विरोध र आक्रोश बढ्दै गयो । नेतृत्वले वर्ग दृष्टिकोण, वर्ग अडान र वर्ग आधारलाई छोड्दै लग्यो । जनता र देशका निम्ति काम गर्न दिएको दुई तिहाइको बहुमत भएको संसद्लाई कालिदास शैलीमा विघटन गरियो ।
आफूभन्दा अग्रज नेताहरूलाई पार्टीबाट निष्कासन गरियो र एक वा अर्का घोर दक्षिणपन्थी पार्टीहरूसँग साँठगाँठ गरेर सत्ताको कुर्सी हत्याउने खेलतिर नेतृत्व लाग्यो । त्यसले पार्टीलाई नराम्ररी खुल्याउने र खुम्च्याउने काम त गर्दै नै थियो । पछिल्लो अवधिमा आएर नेपाली काँग्रेससँग पूर्ण रूपले वर्गीय आत्मसमर्पण गरेर जुन गठबन्धन सरकार बनाएको छ, त्यसले त एमाले नेतृत्वलाई क्रान्तिकारी धारबाट पूर्वरूपले दक्षिणपंन्थी औसरवादी धारतिर पुर्याएको छ । यस्तै नेतृत्व र कार्यदिशा रहिरहने हो भने यो पार्टी या त एउटा उदारवादी संसदीय पुँजीवादी पार्टीमा अधपतित हुन्छ वा यो आफैँभित्रका अन्तर्विरोधहरूले त्यो विभाजित र विखण्डित हुँदै जान्छ ।
कमरेड भिम रावललाई पार्टीबाट निष्कासनसम्म आइपुग्दा यो पार्टी एउटा दुःखद घडीमा आइपुगेको छ । वर्तमान पार्टी नेतृत्व र उसका नीतिका कारणले पार्टी गहिरो संकटतिर धसिँदै गएको छ । अरु धेरै कुरा हेर्नै पर्दैन, प्रधानमन्त्रीका प्रायः प्रत्येक कार्यक्रममा युवाहरू कठोर विरोधमा नारा लगाउन थालेका देखिन्छन् । त्यसले गर्दा एक थरी एमाले साथीहरू वैकल्पिक नेतृत्वको खोजीमा समेत लागेको देखिन्छन् । उनीहरू कति सफल हुन्छन् त्यो त हेर्न बाँकी नै छ ।
यस्तो अवस्थामा कमरेड भिम रावल ‘मातृभूमि जागरण अभियान’ लिएर मैदानमा उपस्थित हुनुभएको छ । उहाँ एउटा प्रबल देशभक्त नेता हो । उहाँका विचार, दृष्टिकोण र धारणाहरू मार्क्सवादी-लेनिनवादका वैज्ञानिक सिद्धान्तबाट नै बनेका छन् । त्यस्तो व्यक्तिलाई भर्खरै एउटा ‘कम्युनिष्ट पार्टी’ बाट निष्कासन गरिएको छ । अब वहाँ कसरी अघि बढ्नु हुन्छ रु त्यसले आकार लिन एउटा समय लाग्न सक्छ । केही दिन त पर्खेरै हेर्नै पर्छ ।
तर, केही उरन्ठेउला बुद्धिजीवीहरू ‘भीम रावलले कम्युनिष्टको खोल उतारे’ भन्ने जस्ता कठोर नकारात्मक टिप्पणी पनि गर्न पुगेका छन । तर, यो देशका बुर्जुवा नेता र आफूलाई कम्युनिष्ट नेता भन्नेहरू समेत एकपछि अर्को साम्राज्यवाद र प्रभूत्ववादका जालमा फसेर राष्ट्रघाती काम गरिरहेको वर्तमान अवस्थामा भीम रावलले ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्नु सर्वथा औचित्यपूर्ण देखिन्छ । कम्युनिष्टको खोल ओडेर साम्राज्यवादको दलाली गर्नु भन्दा मात्र देशभक्तिपूर्ण अभियान पनि प्रगतिशील हुन्छ । त्यसैले म कमरेड रावलको यो अभियानलाई अभिवादन गर्न चाहन्छु ।
के कमरेड भीम रावलले ‘कम्युनिष्टको खोल’ उतारेको हो ? मलाई त्यस्तो लागेको छैन । कतिपय वैचारिक कमजोरीका बाबजुद जतिबेला नेकपा बन्यो, दुई तिहाइ बहुमत संसदमा प्राप्त भयो, ६ प्रदेश सभामा बहुमत प्राप्त भयो, ७५३ पालिकामध्ये ६० प्रतिशतमा बहुमत प्राप्त भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनको विकासको चुली त्यही हो । त्यसपछि कम्युनिष्ट पार्टी फेरि फुट, विभाजन र विनाशतिर गइरहेको छ । त्यसलाई सही कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन नगर्ने हो भने कम्युनिष्ट आन्दोलनलाई एमाले नेतृत्वले भयानक संकटमा पुर्याएको छ । यस्तो अवस्थामा कमरेड को कदम एउटा सकारात्मक कदम हुन सक्छ । त्यसका निम्ति कमरेड भीम रावलले निम्न कुरालाई पक्कै ध्यान दिनुहुनेछ भन्ने आशा गरौँ-
१. नेपालका सबैभन्दा अग्रगन्य देशभक्त भनेका सच्चा कम्युनिस्टहरू नै हुन । तर नक्कली कम्युनिस्टहरू होइनन् । त्यसैले मार्क्सवाद र देशभक्तिका बीच वैज्ञानिक समन्वय आवश्यक छ ।
२. मार्क्सवादले नेपाली समाजको उत्पत्ति, विकास, वर्तमान अवस्था र यसको भविष्यको बाटो देखाउँछ । मार्क्सवादलाई नेपाली समाजको विकासको ऐतिहासिक प्रवाहसँग एकाकार नगरी नेपाली समाजलाई रूपान्तरण गर्नै सकिन्न ।
३. यति बेला नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट अघि बढ्दै छ । आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको गहन विश्लेषणका आधारमा यो समाजवादी क्रान्तिलाई सम्पन्न गर्न सही क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र रणनीति कार्यनीति लिएर अघि बढ्नु पर्छ । त्यसैले मार्क्सवाद र नेपाली क्रान्तिको प्रवाहका बीचमा एकता हुनैपर्छ ।
म आशा गर्छु, कमरेड भीम रावलले यी ३ कुरालाई पनि ध्यान दिएर अघि बढ्नु हुनेछ ।
मिति : २० पुस, २०८१
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा
सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend