Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सूर्यदर्शन सहकारी ठगी मुद्दा: रविलगायतविरुद्ध आज क-कसले गर्दै छन् बहस ?


    बुधबार, पुष १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत प्रतिवादी रहेको सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस आज (बुधबार) पनि जारी रहनेछ। मंगलबार पक्राउ परेका ७ जनाको वयान सकिएपछि थुनछेक वहस सुरु भएको हो ।

    कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबार सुरु थुनछेक बहसको पहिलो दिन सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले बहस गरे। तर शर्माको बहस नसकिएकाले आज पनि जारी रहने जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले जानकारी दिएकी छन्।

    शर्मापछि सरकारी वकिलकै तर्फबाट विपिनराज तिवारी, कमला काफ्लेसहित नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले बहस गर्नेछन्। बहसका लागि रेग्मी र गौतम मंगलबार नै पोखरा पुगिसकेका छन्।

    सरकारी पक्षको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रास्वपा सांसद सोबिता गौतमलगायतले बहस गर्ने तयारी छ। दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ।

    मंगलबार सरकारी वकिलका तर्फबाट बहस गर्नेहरूले सबै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन्। यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङसँग अदालतले बयान लिएको थियो।

    पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा विभिन्न संस्थासमेत जम्मा ४४ प्रतिवादी छन्, जसमध्ये ३१ प्रतिवादी व्यक्ति छन्। उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार