Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बयानका लागि रविसहित ५ जनालाई अदालतमा उपस्थित गराइयो


    सोमबार, पुष ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा – पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    आज (सोमबार) रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

    आइतबार उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । आजबाट अभियोगअनुसार प्रतिवादीको बयान थालिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । वयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।

    थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।

    जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । सरकारी वकिलको कार्यालय, कास्कीले संघीय संसद सचिवालयलाई पत्र पठाएर उनको निलम्बनवारे औपचारिक जानकारी दिएको छ । जिल्ला अदालतमा मुद्दा नटुङ्गिदासम्म उनी निलम्बनमा हुनेछन् ।

    प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर गरेको छ । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार