काठमाडौं । साढे ३३ किलो सुन तस्करीका अभियुक्त हुन् गुप्तलाल भुसाल (रोशन) । सरकारी सूचीमा फरार रहेका भूसाल पटक पटक दुबई ओहोरदोहोर गर्दा पनि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले उनलाई रोकतोक गरेको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले २०७३ पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिसकेको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन बरामद गरेको थियो । उक्त सुन तस्करीका मुख्य अभियुक्त गुप्तलाल भुसाल र हरिशरण खड्का रहेको खुल्यो । प्रहरीले भूसाल र खड्काका बिरुद्ध रेडकर्नर नोटिस जारी गर्यो ।
सुनतस्करीका मुख्य आरोपी खड्का दुवईमा पक्राउ परे । तर भूसाल भने अहिलेसम्म पनि फरार सूचीमा छन् । उनी पटक पटक नेपालको विमानस्थलबाटै दुवई ओहोर दोहोर गर्दछन् । कुख्यात अपराधी चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती छिराउन सकिन्छ भनेर त्यत्तिकै भनेका होइन रहेछन् भन्ने कुरा फरार सूचीमा रहेका भूसालको पटक पटकको दुवई–काठमाडौं ओहोरदोहोरबाट पुष्टि भएको छ ।
भूसालले सुन तस्करीबाटै दुवईदेखि नेपालसम्म अरबौंको सम्पति जोडेको बिषयमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले २०७५ असार २९ मा नेपाल राष्ट्रबैंकसँग गुप्तलाल भूसालसहितको बैंकहरुमा रहेको विवरण माग गरेको थियो ।
नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई सम्पत्ति शुद्धिकरणले लेखेको पत्रमा उल्लेख छ–सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा रहेका निम्न ब्यक्ति तथा निजहरुका घरपरिवारको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेका सबै प्रकारका बैंकखाताहरु, उल्लेखित ब्यक्तिहरुले गरे्को एलसी(लेटर अफ क्रेडिट) कारोबार, समेतको विवरणहरु, ऋण कारोबार खाता खोल्दा पेश भएका कागजातहरु (केवाइसी विवरण) आवश्यक परेकाले उपलब्ध गराई अनुसन्धान कार्यमा विभागलाई सहयोग गरिदिनुहुन अनुरोध छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले राष्ट्रबैंकलाई लेखेको पत्र
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले राष्ट्रबैंकलाई मागेको विवरणमा पर्वतको पैंयु गाउँपालिका–७(साविक भोर्ले गाविस–१)का रोशन भूसाल भन्ने गुप्तलाल भूसालको नाम उल्लेख छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीबिरुद्ध अनुसन्धान गरिरहेको छ । विभागका प्रवक्ता सुशील आचार्यले भने, विमानस्थलबाट बरामद भएको सुन तस्करीका मुख्य आरोपीको अनुसन्धान भइरहेको बताए । उनले भने–अनुसन्धान भइरहेको बिषयमा केही भन्न मिल्दैन ।’
टेम्पो चालक भूसाल सुनतस्करीबाट बने बीसौं करोडका मालिक
रोशन भनिने गुप्तलाल भुसाल १७ वर्ष अगाडिसम्म नेपालमा टेम्पो चालक थिए । तर १७ बर्षको बीचमा उनले सुनतस्करीबाट अरबौंको सम्पत्ति जोड्न सफल भएका छन् । उनका दुवईमा क्लबदेखि ज्वेलरी सप र नेपालमा थुप्रै ठाउँमा घरजग्गा छन् । उनले सुनतस्करीको रकमबाट काठमाडौंको सामाखुसीस्थित टोखा रोडमा भब्य सपिङ कप्म्लेक्स निर्माण गरिरहेका छन् । साविक गाेंगबु गाविस ५ ‘क’ कित्ता नम्बर २४९ को ३ रोपनी ८ आना ३ पैसा जग्गामा उनको कम्प्लेक्स निर्माण भइरहेको छ । गेम्जो गुरुङकी श्रीमती ताकडोल्मा गुरुङको नाममा रहेको उक्त जग्गा भूसालले खरिद गरी कम्प्लेक्स निर्माण भइरहेको छ । उक्त जग्गामा कम्प्लेक्स निर्माण गरेको स्रोत के हो ? यो बिषयमा पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्ने भएको छ ।
दुवईमा क्लवदेखि ज्वेलरी सपसम्म
गुप्तलाल भूसालले सुन तस्करीबाट कमाएको रकम दुवईमा पनि विभिन्न क्लव, ज्वेलरी सप र दोहोरीमा लगानी गरेका छन् । भूसालले दुबईमा गएपछि ९ वटा कम्पनीहरु सञ्चालन गरेका छन् । उनले लण्डनमा बस्ने साला कृष्णप्रसाद थपलियाका नाममा याक एण्ड यति दोेहोरी संचालन गरेका छन् । उक्त दोहोरीमा कृष्ण अग्रवाललाई पार्टनर राखिएको छ । उक्त दोहोरीमा भूसालका नातेदार नवीन पाठकसमेत पार्टनर छन् । सुनतस्करीकै रकमले हालसालै याक एण्ड यति क्लव पनि सुरु गरेका छन् ।

भूूसालले दुवईमा संचालन गरेको याक एण्ड यति क्लव
त्यस्तै, भूसालले कृष्ण अग्रवालको नाममा दुवईमै माउन्ट एभरेष्ट ज्वेलर्स पनि संचालन गरेका छन् । ३३ किलो सुन प्रकरणमा अग्रवाल पनि मुछिएका छन् । उक्त ज्वेलर्सबाट सुनतस्करी र अवैध हुन्डीको कारोबार हुँदैआएको छ । भूसालको दुवईमा याक एण्ड यति नेप्लीज कुजिन रेष्टुरेन्ट पनि संचालनमा छ ।
काठमाडौंमा सुरुमा टेम्पो चलाउने भूसाललाई घर बनाउनका लागि ससुरालीले ३ लाख रुपैयाँ दिएका थिए । टेम्पो चालक भुसाल अरब भन्दा बढी सम्पत्तिका मालिक भएका छन् । उनको नाममा बैंकमै १२ करोड भन्दा बढी रकम छ । भुसालको काठमाडौंका ७ वटा बैंकमा खाता रहेका छन् । २००६ मा दुबई जानुभन्दा अगाडि केही समय जग्गाको कारोवार गर्थे । तर त्यसमा पनि सफल नभएपछि उनी दुबई गएका थिए । दुवईमा गएपछि भूसाल सुनको धन्दामा सामेल भई रातारात दुवईदेखि काठमाडौंसम्म बीसौं करोडको सम्पत्ति जोड्न सफल भएको प्रहरीको दाबी छ ।
२०७३ पुसमा विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन बरामद भएपछि सीआइबीले सुन तस्करविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको थियो । र, तस्करीमा संलग्नहरुको सम्पति विवरण संकलन गरेको थियो । जसमा भुसालको सम्पति अकूत देखिएको थियो । सीआइबीको विवरणकै आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ ।