Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी लगानीमा बन्ने, लागत करिब ३.८ अर्ब


    मंगलबार, पुष २ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ – मुलुकमै पहिलो पटक सार्वजनिक(निजी साझेदारी (पीपीपी) मोडेलमा प्रसारण लाइन निर्माण हुने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले अध्ययन गरिरहेका तयारी आयोजनामध्ये ‘तमोर(ढुंगेसाँघु २२० केभी प्रसारण लाइन’ निर्माण गर्न मंगलबार सम्बन्धित कम्पनीबीच सम्झौता भएको छ ।

    राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, रेमिट हाइड्रो लिमिटेड, सिम्बुवा रेमिट हाइड्रो लिमिटेड, क्रिस्टल पावर डेभलपमेन्ट प्रालि, युनियन हाइड्रोपावर लिमिटेड र नेपाल हाइड्रो भेन्चर प्रालिबीच प्रसारण लाइन निर्माण सम्झौता भएको हो ।

    ग्रिड कम्पनीका अनुसार ३२ किलोमिटर लम्बाइ र २२०/१३२ केभीको सबस्टेसन कार्यक्षेत्र रहेको उक्त आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ बराबर हुनेछ । आयोजना ‘निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण’ (बुट) मोडेलमा निर्माण हुनेछ ।

    प्रसारण लाइन निर्माणमा यसअघि सरकारले मात्र लगानी गर्दै आएको थियो । अहिले भने पहिलो पटक निजी क्षेत्र प्रवेश गरेको हो । यो आयोजनामा निजी क्षेत्रका पाँच जलविद्युत् कम्पनीले स्वपूँजी लगानी गर्नेछन् ।

    यो प्रसारण लाइन निर्माण गर्न आवश्यक ७० रोपनी जग्गा यसअघि नै अधिग्रहण गरिसकिए र निर्माणअघिका सबै काम पूरा भइसकेको ग्रिड कम्पनीले जनाएको छ । हाल आयोजनाको ७४ प्रतिशत सेयर विद्युत् उत्पादक कम्पनी र बाँकी २६ प्रतिशत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको हुने प्रस्ताव कायम गरिएको छ ।

    जसअनुसार रेमिट हाइड्रोलाई १० प्रतिशत, सिम्बुवा रेमिट हाइड्रो ९, क्रिस्टल पावर डेभलपमेन्ट ४२, युनियन हाइड्रोपावर ८ र नेपाल हाइड्रो भेन्चरलाई ५ प्रतिशत तोकिएको छ । त्यसैगरी आयोजनाको मुख्य आयस्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्विलिङ चार्ज हुने र सोही आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफारनोक्सान सेयरधनीले बेहोर्ने अवधारणा बनाइएको छ ।

    आयोजना निर्माण गर्न एचआईडीसीएलले ऋण लगानी गर्ने र यसका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र एचआईडीसीएलबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार