काठमाडौं । आइतबार पदबाट राजीनामा दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको बिदाइ कार्यक्रम सोमबार दिउँसो १२ बजे राखिएको थियो । पर्यटन मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव यादव कोइरालाले मन्त्री भट्टराईलाई बिदाइ गरेका थिए । बिदाई कार्यक्रममा मन्त्री भट्टराईले भन्दा चर्को भाषण नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन घिमिरेले गरेका थिए ।
घिमिरेले सम्बोधनका क्रममा भने–तपाईंको बहिर्गमनले प्रतिगमन सच्याउन र तपाईं संलग्न पार्टीलाई पद्धतिमा हिंडाउन र राजनीतिक प्रणाली पुनस्र्थापित गर्न मद्दत पुगोस् । राजनीतिक, संबैधानिक संकटलाई समाधान गर्न मद्दत पुग्ने अपेक्षा पनि घिमिरेले गरेका छन् ।
पर्यटन मन्त्रालयका सबै कर्मचारीको तर्फबाट बिदाइ शुभकामना दिदै घिमिरेले भने–मन्त्रालयले तपाईंलाई यी बिषयमा सदैब सम्झनेछ ।
मन्त्री भट्टराईको नेतृत्वमा पर्यटन मन्त्रालयले गरेका उपलब्धीहरुको बारेमा पनि घिमिरेले बुँदागत रुपमा प्रकाश पारेका थिए ।
घिमिरेका अनुसार कोरोना महामारीसँग जुध्नका लागि ल्याइएका कोरोना सम्बन्धित कार्यक्रमदेखि आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रम, दुई दिन सार्वजनिक बिदा दिने अवधारणामार्फत् अर्थतन्त्रमा आइसब्रेक गर्ने कार्यक्रमका बारेमा बताएका थिए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा पोखरा र लुम्बिनी विमानस्थल संचालनको निर्णय मन्त्री भट्टराईको कार्यकालका उपलब्धी भएको घिमिरेले प्रकाश पारेका थिए ।
विकास समितिको छाता ऐन मार्फत् सुशासन कायम गर्ने कार्य भएको र नेपाल वायुसेवा निगमलाई संस्थागत सुधार गर्दै नयाँ जीवन दिने कार्यक्रम पनि १७ महिनाको अवधिका उपलब्धी भएको घिमिरेले उल्लेख गरेका छन् । पर्यटन सम्बन्धी ऐन, नीति पुनरावलोकन तथा विद्यमान रणनीति, योजना र बजेट कार्यान्वयनमा आक्रामक ढंगले काम भएको घिमिरेको भनाइ थियो ।
मूत अमूर्त संस्कृतिको संरक्षण सम्बद्र्धन गर्दै सामाजिक पूँजी निर्माण गर्दै सामाजिक पूँजीबाट आर्थिक मूल्य सृजना गर्दै आर्थिक विकास गर्ने कार्यक्रम पनि यस अवधिमा भएको उनले बताएका छन् ।
समग्र पर्यटन क्षेत्रको रुपान्तरण गर्ने बिषय, पर्यटन प्रबद्र्धन तथा पर्यटकीय विकासका लागि संघीय तहहरुबीच समन्वय र साझेदारीमा आयोजनाहरु कार्यान्वयनको सुरुवात भएको घिमिरेले बताएका छन् ।