Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीअन्तर्गत ४ सय केभी प्रसारणलाइनका लागि बोलपत्र आह्वान


    बुधबार, मंसिर १२ २०८१
    740
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २९७ किलोमिटर लामो चार सय केभी विद्युत् प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरेको छ ।

    एमसीए नेपालले आज बुधबार सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि बोलपत्र आह्वान गरेको हो ।

    यसअघि गरिएको बोलपत्रमा अनुमानित लागतको तुलनामा भन्दा बढी बोलपत्रदाताहरुले लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो । त्यसैले प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गरिएको हो ।

    एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई चार भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदैछ । त्यसमध्ये न्यु बुटवल–गोरखपुर प्रसारणलाइनको नेपालपट्टिको १८ किलोमिटर खण्डको ठेक्का लागि सकेको छ ।

    १ करोड २४ लाख अमेरिकी डलरमा सो प्रसारण लाइन निर्माण गर्न ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १४ भदौ ०८१ मा सम्झौता भएको थियो । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिने एमसीसीले जनाएको छ ।

    प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्ड र तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन तोकिएको छ । प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा १७ माघ २०८१ लाई तोकिएको छ ।

    अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकहरूमाथि समीक्षा गरिएकाले थप कार्यान्वयनयोग्य र लागत–प्रभावकारी प्रस्तावहरू प्राप्त हुने अपेक्षा गरिएको पनि एमसीए नेपालले जनाएको छ ।

    यसअघि गत वर्षको ८ जेठमा प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेन्डर आह्वान भएकोमा निर्माणको प्रस्ताव गर्ने कम्पनीमध्ये पाँचवटा प्राविधिक रुपमा योग्य ठहरिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार