Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आईजीपीको नाकैमुनि एसपी मल्लको धन्दा, कारबाहीका लागि तानिएका घुमुवा खटाउँदै लिन्छन् फाइदा


    बुधबार, मंसिर १२ २०८१
    3.5K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले डीआईजी भएदेखि नै सादा पोशाकमा घुमुवा परिचालन नगर्ने निर्देशन दिएर मधेश प्रदेशमा त्यसलाई लागू गरे । नेपाल प्रहरीमा काजमा बर्षौदेखि घुमुवाका रुपमा असुलीमा लागेकाहरुलाई दरबन्दीमा फिर्ता गर्ने अभियान नै चलाए । फलस्वरुप काजमा कार्यरत मधेश प्रदेशका पचासभन्दा बढी घुमुवा दरबन्दीमा जान बाध्य भएका थिए । सूचना संकलन गर्ने भनी सादा पोशाकमा परिचालित घुमुवाहरु तस्करी र अपराध गर्नेहरुसँग कनेक्सन मिलाउने र असुलीमा मात्र तल्लीन हुने गरेको पाइएपछि कुँवरले काजफिर्ता अभियान चलाएका थिए ।

    सादा पोशाकमा घुमुवा परिचालन गर्न रोक लगाउने र सुशासन कायम गर्ने अभियानमा लागेका आईजीपी कुँवरकै सचिवालयअन्तर्गतको सुपरीवेक्षण तथा अनुगमन महाशाखा(उजुरी छानबिन इकाई) का एसपी प्रकाश मल्लले कारबाहीस्वरुप गणमा तानिएका घुमुवालाई पुनः असुलीमा खटाउने गरेको खुलासा भएको छ । कारबाहीमा परेका घुमुवाहरुलाई नै एसपी मल्लले पुनः असुलीमा लगाएर आईजीपीको सोझोपनको दुरुपयोग गरेर सचिवालयको बदनाम गरिरहेका छन् । उजुरी छानबिनमा यसअघि कार्यरत एसपी अनुराग द्विवेदीले पनि यसैगरी उठाएको आरोप लागेको थियो ।

    एसपी मल्लले खटाएका घुमुवा हवल्दार रामबिश्वास यादवले आईजीपीकै सचिवालयबाट खटिएको भनी केही दिनअघि यातायात कार्यालय बीरगंजका प्रमुखसँग १५ लाख रुपैयाँ लेनदेन गरेको खुलेको छ ।

    बीरगंजमा लामो समय कार्यरत हवल्दार यादवका बिरुद्ध थुप्रै उजुरी परेपछि कारबाहीस्वरुप उजुरी छानबिन ईकाईले उनलाई प्रहरी प्रधान कार्यालयको परिसरभित्रै रहेको एक नम्बर गण नक्सालमा सरुवा गरेको थियो । गणमा सरुवा भएका यादवलाई एसपी मल्लले भेटेर केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा पठाए । बर्दीमा ड्यूटी गर्नेगरी सीआईबीमा पठाइएका उनले १५ दिन छुट्टीका लागि निवेदन दिए । कारबाहीमा परेका यादवलाई सीआईबीले छुट्टी दिन नमानेपछि मल्लले नै सिफारिस गरी १५ दिन बिदा दिन लगाए ।

    बिदा पाएपछि उनी बीरगंजमा गएर असुलीमा लागिहाले । सबै तस्करीदेखि भन्सार र यातायातमा हुने सवारीअनुमतिपत्रमा हुने गरेका कामकारबाहीको नेटवर्क थाहा पाएका थिए । यादवले प्रहरी प्रधान कार्यालयबाट आईजीपीले नै खटाएको भनी यातायात कार्यालय बीरगंज (सवारी)का प्रमुख धर्मेन्द्र कर्णसँग १५ लाख रुपैयाँ लिएको सूचना अख्तियार दुरुपयोग अनुसन्धानको बागमती प्रदेश कार्यालय हेटौंडामा पुग्यो ।

    हेटौंडाको टोलीले यातायात कार्यालयका प्रमुख कर्णसँग घुस माग्ने हवल्दार रामविश्वास यादवलाई पक्राउ गरी सीआईबीमा बुझायो । सीआईबीले १ नम्बर गणमा ल्याएर छानबिन गरिरहेको छ । छानबिनका क्रममा हवल्दार यादवले एसपी मल्लकै निर्देशनमा आफू बीरगंजमा असुलीका लागि परिचालित भएको बयान दिएको स्रोतले बताएको छ ।

    प्रहरी प्रधान कार्यालयको उजुरी छानबिनका एसपी मल्लले बीरगंजमा मात्र होइन, कारबाहीमा परी तानिएका बदनाम घुमुवाहरुलाई देशभर खटाउने गरेको खुलेको छ । एसपी प्रकाश मल्लले नै खटाएका सहायक हवल्दार कलिम बेहना गएको कात्तिक ११ गते लागुऔषधसहित काठमाडौंबाट पक्राउ परेका थिए ।

    काठमाडौंमा लागु औषध बिक्री गरिरहेको अवस्थामा बेहना पक्राउ परेका थिए । दरवन्दी दाङ भएका उनी पछिल्लो समय काजमा प्रहरी प्रधान कार्यालय उजुरी छानबिन महाशाखामा कारबाहीस्वरुप तानिएका थिए । कारबाहीस्वरुप तानिएका उनलाई एसपी मल्लले नै घुमुवाका रुपमा खटाएको स्रोत बताउँछ ।

    दाङमा बर्षौदेखि कार्यरत बेहनाका बारेमा धेरै उजुरी परेपछि छानबिनका लागि उनी तानिएका थिए । छानबिनमा तानिएका उनलाई मल्लले नै घुमुवाका रुपमा पुनः खटाएको र लागूऔषध बिक्री गर्दागर्दै उनी पक्राउ परेका थिए । रामविश्वास र बेहना उदाहरणमात्र हुन्, कारबाहीका लागि तानिएका धेरै घुमुवालाई एसपी मल्लले असुलीमा तराईका जिल्लामा खटाएको स्रोत बताउँछ ।

    एसपी मल्लले महोत्तरीमा ९ बर्षदेखि कार्यरत घुमुवा हवल्दारहरु धर्मेन्द्र यादव र राजेश यादवलाई दर्जनौं उजुरी पर्दा पनि कारबाही हुनबाट रोेकेका छन् । उनीहरुको असुली आतंक नै छ महोत्तरीमा । तर उनीहरुबिरुद्ध परेका उजुरी नै मल्लले लुकाइदिने गरेको आरोप छ ।

    सहायक हवल्दार राजेश यादवको दरबन्दी पर्साको बिपत ब्यवस्थापन कार्यालयमा हो । यज्ञबिनोद पोखरेल डीआईजी हुँदा धनुषा गणमा काजसरुवा मिलाइदिए । धनुषा गणका गणपति नारायण रंजितकार र सुबेदार मेजरलाई मिलाएर उनी महोत्तरीमा घुमुवाका रुपमा खटिंदैआएका थिए । हिजो (मंसिर ११ गते)मात्रै उनले मधेश प्रदेश प्रहरी कार्यालयको प्रशासनका डीएसपीलाई मिलाएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमै काजसरुवा गराउन सफल भएका छन् ।

    आईजीपीले अति विश्वास गरेको फाइदा उठाउँदै मल्लले धर्मेन्द्र कर्णलाई दरबन्दी अन्यत्र हुँदा पनि महोत्तरीमै काजमा राखेका थिए । मल्लले आफू महोत्तरीको एसपी हुँदा उनको दरबन्दी महोत्तरी जिल्ला प्रहरी कार्यालयमातहत नै ल्याएका छन् ।

    सहायक हवल्दार संजय जैसवाललाई महोत्तरीबाट वडा प्रहरी कार्यालय बिर्तामा लगेर राखेको छ । प्रहरी प्रधान कार्यालयबाट एसपी मल्लले खटाएको भन्दै उनले असुली आतंक नै मच्चाएका छन् । मल्ल महोत्तरीको एसपी हुँदा नै उनी घुमुवा थिए । महोत्तरीमा उनका बारेमा उजुरी छानबिनमा धेरै गुनासा आएपछि एसपी मल्लले पर्साको अर्को मालदार वडा प्रहरी कार्यालयको घुमुवाका रुपमा राख्नेगरी हेडक्वाटरबाटै खटाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार