Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री


    सोमबार, मंसिर १० २०८१
    765
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं – सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन् । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख घिमिरेले कम्बोडियाको पिस प्यालेसमा प्रधानमन्त्री सम्देच हुन मानेटसँग भेटवार्ता गरेका हुन् ।

    भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले नेपालको बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए ।

    यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुख घिमिरेको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ सालमा नै हवाइ सम्झौता भएको थियो ।

    त्यसैगरी दुवै देशका नागरिकबीच आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको बताइएको छ । सभामुख घिमिरेले नेपाल भ्रमणको लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा समेत दिएका छन् ।

    प्रधानमन्त्री मानेटले साना राष्ट्रहरूको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को अन्तर(संसदीय सभा उत्कृष्ट मञ्च भएको बताउँदै आफू समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे । भेटलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रुपमा हेरिएको छ ।

    सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरिसकेका छन् । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिकाबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे छलफल भएको थियो ।

    पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूर्ण सत्रमा सम्बोधन गरेका थिए । सभामुख मंगलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार