Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जन्ममिति विवादमा तानिएका एआईजीहरू आईजीपी बन्ने दौडमा, बालकोटले दिएन ग्रिनसिग्नल


    शुक्रबार, असार १ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • माधव पौडेल

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई हटाएर आईजीपी हुने दौडमा रहेका एआईजीद्वय श्यामलाल ज्ञवाली र भीमप्रसाद ढकालको नागरिकताको जन्ममितिकै विवाद छ । उनीहरुको जन्ममितिका आधारमा उनीहरुको प्रहरी सेवामा प्रवेश नै नियमसंगत देखिंदैन । तर जन्ममितिमै विवाद भएका ज्ञवाली र ढकाल आईजीपी हुने खेलमा संगठन नै कमजोर बनाउन तल्लीन भएर लागेका छन् ।

    नागरिकतामा जन्ममिति विवाद देखिएका एआईजी आईजीपीको दौडमा

    नागरिकतामा अनेक थरी जन्ममिति भएका एआईजीद्वय ज्ञवाली र ढकालको पहिलो प्रयास ३० बर्षे सेवावधि हटाउनेमै रहेको छ । त्यसपछि आईजीपी हुने दाउमा ज्ञवाली छन् । उपत्यका प्रहरीको प्रमुख हुँदा भूटानी शरणार्थी प्रकरणमा स्वकीय सचिव राजेश बज्राचार्यको नाम मुछेपछि एमाले अध्यक्ष केपी शर्मा ओली एआईजी ज्ञवालीसँग रुष्ट छन् ।

    ओलीसँगको दूरी घटाउनका लागि एक साताअघि एक दिन बेलुका एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई लिएर ज्ञवाली बालकोट पुगेका थिए । बालकोटमा ३० बर्षे हटाउने बिषयमा ओलीको सकारात्मक जवाफ नपाएपछि ज्ञवालीले कोशी प्रदेशतिरै घर भएका मानवस्रोत विभागका एआईजी भीमप्रसाद ढकाललाई बालकोट मिलाउन खटाएका छन् । स्रोतका अनुसार ढकालको दैनिकी पछिल्ला दिनमा बालकोटका निकट नेताहरु भेट्ने र प्रहरीको ३० बर्षे सेवावधि हटाउन लबिङ गर्ने रहेको छ ।

    एआईजी ज्ञवाली र ढकालको जन्ममिति विवाद यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगिसकेको हो । अख्तियारका पदाधिकारीसँग के के गरी नागरिकताको जन्ममिति विवादमा क्लीनचिट पाए भन्ने कथा लामो हुन्छ । आईजीपी कुँवरलाई हटाउने र महानिरीक्षक बन्ने खेलमा लागेका श्यामलाल ज्ञवालीको जन्ममितिमा पाँच महिना ५ दिनको अन्तर छ । उनको नागरिकतामा २१ चैत २०२४ उल्लेख गरिएको छ भने शैक्षिक प्रमाणपत्रमा २६ भदौ २०२५ उल्लेख गरिएको छ । ज्ञवालीले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट एकसाथ सेवा सुरु गरेका थिए । २०२४ को नागरिकता त प्रहरीको कर्मचारी प्रशासन शाखाको अभिलेखबाटै गायब पारिसकेको आरोप ज्ञवालीमाथि छ ।

    भीम ढकालको नागरिकता नै संशोधन गरिएको छ । राष्ट्रिय किताबखानाका अनुसार उनको नागरिकताको अगाडिपट्टीको भागमा २०२४ साल मंसिर २८ लेखिएको थियो भने सोही नागरिकताको पछाडिपट्टिको भागमा २०२५ साल मंसिर २८ लेखेर प्रमुख जिल्ला अधिकारीले संशोधन लेखेका थिए । सो विवरण अहिले राष्ट्रिय किताबखानामा उपलब्ध छैन । ढकालले २०२४ मा भोजपुर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए । पछि मोरङबाट जन्ममिति सच्याएर २०२५ बनाएर प्रतिलिपि लिएका छन् । ढकालले पनि प्रहरीको कर्मचारी प्रशासनम रहेको अभिलेख(ड्रोसियर)बाट पुरानो नागरिकता गायब गरिसकेका छन् ।

    ढकालको प्रहरी अभिलेखको जन्ममिति २०२५ साल मंसिर २८ गते छ । तर नागरिकतामा २०२४ साल मंसिर २८ गते छ । शैक्षिक योग्यताको विवरणमा भने २०२५ साल मंसिर २८ गते छ । यसरी हेर्दा जन्ममिति फरक पर्न गएको अवधि एक वर्ष हुन्छ ।

    नागरिकता लिएको वर्षको मात्रै हिसाब गर्ने हो भने भीम ढकाल प्रहरी निरीक्षकका लागि आवेदन दिँदा २५ वर्ष ४ महिना ३ दिनका थिए । यो आधारमा उनी सेवा प्रवेशकै लागि अयोग्य देखिन्छन् ।
    ५ चैत २०५१ मा प्रहरी निरीक्षकको नियुक्ति पाएका उनीहरूको आवेदन भने १३ मंसिर २०५० मा खुलेको थियो ।

    डीआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममितिबारे अनुसन्धान गरी पाऊँ भन्दै धनगढीका शेरबहादुर चन्दले २०७९ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । तर उजुरी परेको एक महिनामै जन्ममिति विवाद भए पनि उनले आयोगबाट क्लीनचिट पाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार