Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार परिवर्तनसँगै सचिवहरूको सरुवा तयारी


    बिहिबार, चैत्र ८ २०८०
    3.9K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । गठबन्धन फेरिएको एक सातामै गृहमन्त्रालयको सचिवमा एकनारायण अर्याललाई लगेर सचिव सरुवाको खाता खोलेको सरकारले ठूलो संख्यामा सचिव सरुवाको तयारी गरेको छ । अर्याल गृह प्रवेश गरेपछि सो मन्त्रालय ताकेका एमालेनिकट सचिवहरुले अन्य ठूला मन्त्रालयमा आँखा लगाएका छन् । संभवतः बिहीबार (आज) बिहान ९ बजे बस्ने मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गर्ने संभावना छ ।

    अर्थसचिव कृष्णहरि पुस्कर अमेरिका भ्रमणमा गएपछि असन्तुष्ट बनेका अर्थमन्त्री बर्षमान पुनले अर्थमा राजस्व सचिव डा.रामप्रसाद घिमिरेलाई नै जिम्मा दिने तयारी गरेका छन् ।

    घिमिरे अहिले पुस्कर अमेरिका गएपछि पूरै मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् । अर्थतन्त्र संकटमा परिरहेको बिषम परिस्थितिमा अर्थ मन्त्रालयको बागडोर सम्हालेका पुनलाई मन्त्रालय र मातहतको ब्रिफिङ नसकी पुस्कर अमेरिका पुगेका हुन् । सो पदमा घिमिरेका अलावा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तोयम रायाले पनि एमाले नेतृत्वसँग लाइन मिलाइरहेका छन् ।

    त्यस्तै, अर्थसचिवकै लागि प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलले पनि चाहना राखी लबिङ थालेका छन् । पुस्करले बिस्थापन गरेका पोखरेल उनलाई नै हटाएर प्रतिस्थापन भई विगतको सरुवा गलत थियो भन्ने साबित गर्न चाहन्छन् । सके अर्थ, नभए पनि उद्योग सचिवमा पोखरेलको नजर परेको छ । उद्योग सचिव मुकुन्द निरौलालाई मन्त्री दामोदर भण्डारीले उपयुक्त स्थान खोजेर विकल्प दिनका लागि संकेत गरिसकेको स्रोत बताउँछ ।

    मन्त्री भण्डारीले बाणिज्य सचिव नारायणप्रसाद दवाडीको समेत विकल्प खोजिरहेका छन् । निरौला रिक्त निर्वाचन आयोगमा सचिवमा सरुवा हुने चर्चा छ । कतिपयले उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा भरतमणि सुवेदी पनि उद्योगमै जान चाहिरहेका छन् । सुवेदीको उद्योग पाए भने निरौलाले सार्वजनिक खरिदमै चित्त बुझाउनुपर्ने अवस्था हुनेछ । संचार मन्त्रालयबाट बाहिरिएका कृष्णबहादुर राउत बित्त आयोगबाट मन्त्रालयमा आउन खोजिरहेका छन् । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले बर्षाैदेखि मन्त्रालय छाडेर आयोग तथा कार्यालयतिर पुर्याउने तयारी छ ।

    उद्योग नपाए सुवेदीले रक्षा ताकेका छन् । पर्यटनका डा. दीपक काफ्ले माओवादीकै मन्त्री सुदन किराँतीले ल्याएका हुन् । तर किराँतीले ल्याएका उनलाई हितबहादुर तामाङले निरन्तरता दिन नचाहेका कारण प्रधानमन्त्री कार्यालयमै थन्किनुपर्ने संभावना छ । बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय यही मौकामा संघीय मामिला मन्त्रालय ताकिरहेका छन् । तर संघीय मामिलाका बिनोदप्रकाश सिंहले भेगीय नाता लाएर टिक्न खोजिरहेका कारण संघीय नभए बाणिज्य सचिवमा भने पनि आउन जोडबल गरिरहेका छन् ।

    मुख्यसचिव बैकुन्ठ अर्यालका प्रमुख सल्लाहकारको भूमिका निर्वाह गरिरहेका र अर्याल अवधि नपुग्दै बाहिरिएको अवस्थामा यसअघि मुख्य सचिव नै ताकेका उदयराज सापकोटा तेस्रो पटक प्रधानमन्त्री कार्यालयमा जानुपर्ने देखिएको छ । कानुन सचिवका लागि लीला गड्तौला, तोयानाथ अधिकारी, फणिन्द्र गौतमको चाहना रहेको छ । गड्तौलाको पालो मिचेर सापकोटा दोस्रो पटक कानुन मन्त्रालयमा आएका हुन् ।

    खानेपानी सचिव सुरेश आचार्यका लागि बिज्ञान प्रविधि र प्रधानमन्त्री कार्यालयमा कुन ठाउँमा पठाउने भन्नेबारेमा मन्त्री राजेन्द्र राईले छलफल गरिरहेका छन् । उनी आफू बिराटनगरको भएको र मन्त्री धनकुटाका भएका कारण पूर्वको साइनो लाउँदै टिक्न एमालेका मझौला नेताहरुलाई फकाइरहेका छन् । तर सचिव सरुवामा एमाले मन्त्रीहरुको पार्टी नेतृत्वको छनोट लागू हुने भएका कारण आचार्यको टिक्ने प्रयत्न सफल हुने संभावना क्षीण छ । सचिव बढुवा भएको छैटौं पटकमा खानेपानीमा दोस्रो पटक पुगेका आचार्यका लागि सरुवा नौलो बिषय मानिन्न । खानेपानीमा जानका लागि नेपाल ट्रष्टका सचिव विश्वबाबु पुडासैनी चर्चामा छन् ।

    त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मासँग सडक विभागको महानिर्देशक भएको समयमा ठाक्कठुक्क परेकाले मन्त्री रघुवीर महासेठले पनि अर्को सचिव ल्याउने प्रयास गर्नेछन् । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धका कारण महासेठले उनलाई सरुवा गर्नसक्ने संभावना कम देखिएको भौतिक मन्त्रालयका एक डीई बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार