Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • रुसी सेनामा भर्ना भएका १४० नेपालीले दिए उद्धारका लागि आवेदन


    शनिबार, माघ २७ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रुसी सेनामा भर्ना भएका नेपालीको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ । पाँचजना युक्रेनी सेनाको कब्जामा छन् ।

    कन्सुलर सेवा विभागमा करिब १४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेक के कति संख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् । युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन ।

    मन्त्रालयले हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    यसैगरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन् ।

    रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ ।

    रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए । उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार