Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय विदेशमन्त्री जयशंकरको टिप्पणी- भ्रमणमा महत्वपूर्ण सम्झौताहरू भए, यसले सकारात्मक प्रभाव पार्छ


    शुक्रबार, पुष २० २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल सरकारसँग भएका महत्वपूर्ण सम्झौताले नेपाली जनतामा सकारात्मक प्रभाव पर्ने टिप्पणी गरेका छन्।

    शुक्रबार बिहान कीर्तिपुरस्थित भारतको सहयोगमा त्रिभुवन विश्वविद्यालयका लागि बनाइएको पुस्तकालय हस्तान्तरण गर्दै जयशंकरले नेपाल सरकारसँग महत्वपूर्ण सम्झौताहरू भएको बताएका हुन्।

    उनले यस भ्रमणमा ऊर्जा क्षेत्रमा सहकार्य र परियोजना कार्यान्वयन गर्न महत्वपूर्ण सम्झौता भएको बताए।

    ‘मेरो भ्रमणको समयमा हामीले ऊर्जा क्षेत्रमा सहकार्य र परियोजना कार्यान्वयन गर्ने क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू गरेका छौं,’ जयशंकरले भने, ‘र मलाई विश्वास छ यसले नेपाली जनताको जीवनमा सकारात्मक प्रभाव पार्छ।’

    उनले आफ्नो भ्रमण सफल भएको पनि बताएका छन्। नेपाल-भारतबीचको सम्बन्‍धलाई उचाइमा पुर्‍याएको भन्दै परराष्ट्रमन्त्री एनपी साउदलाई र कर्मचारीहरूलाई उनले धन्यवाद समेत दिए।

    पछिल्ला केही वर्षमा विभिन्न क्षेत्रमा प्रगति गरेसँगै नेपाल र भारतबीचको सम्बन्धमा वास्तविक परिवर्तन आएको देखेको उनले बताए।

    यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा छिमेकी देशहरू विशेषगरी नेपालसँगको सम्बन्धलाई पुनर्भाषित गर्दै उनले लगेको बताए।

    उनले प्रधानमन्त्री मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदा दुई देशको सम्बन्धको लागि हिट सुत्रको प्रयोग गरेको बताए।

    यस्तै, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा आउँदा दुई देशका नेताहरूले महत्वपूर्ण निर्णय गरी सम्बन्धलाई ‘सुपर-हिट’ बनाएको पनि उनले बताए।

    जयशंकर नेपाल भ्रमण आउँदा नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका छन्।

    दीर्घकालीन विद्युत व्यापार सम्झौता अन्तर्गत १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतमा निर्यात गर्ने सम्झौता भएको हो।

    भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउने सम्झौता पनि भएको छ।

    यस्तै, नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने सम्झौता पनि बिहीबार भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार