भक्तपुर । जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् ।
उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाका अनुसन्धान अधिकारीहरु बताउँछन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको गत हप्ता हत्या भएको थियो । बुधबार अपरान्ह करिब ४ बजेतिर घरमा आएका अज्ञात व्यक्तिहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाउन भन्दै डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएका थिए ।
जग्गा किन्ने बहाना बनाएर आएकाहरुले योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए । योञ्जनको उपचारको क्रममा गत बिहीबार मृत्यु भएको थियो । कुटपिटबाट स्थानीय व्यापारी समेत रहेका योञ्जन गम्भीर घाइते भएका थिए । उनको त्यसको भोलिपल्ट (बिहीबार) ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीले एक हप्ताको प्रयासपछि हत्यारा समूहलाई बौद्धबाट पक्राउ गर्न सकेको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।