काठमाडौं । लक्षणसहितका कोेरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अस्पतालमा भर्ना हुनै समस्या हुँदै गएको छ । लक्षणसहितको कोरोना संक्रमितलाई श्वास प्रश्वासको समस्या आउने र अस्पतालमा भर्ना नभए ज्यानै जाने भएपछि सरकारले अस्पतालमा बेडको ब्यवस्था गर्ने तीन वटा निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल, इन्सिडेन्ट कमाण्ड सिस्टमले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र आकस्मिक बाहेकका सबै शल्यक्रियाहरु नगर्ने निर्णय गरेको छ । त्यसका साथै अस्पतालहरुले होटलसँग मिलेर आइसोलेसन सेन्टर चलाउन चाहे अनुमति दिने भएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको छ ।