काठमाडौ । क्रिकेट खेलमा सट्टेबाजी गराउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनबाट सट्टेबाजी गरेको अभियोगमा प्रहरीले सात जनाको समूहलाई पक्राउ गरेको हो।
सो समूहले नेपालमा बसेर यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गराउने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले कालिमाटीबाट आइतबार उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक कुलदिप शारण, सन्जिव शारण, अजय गौतम र नविन जैन रहेका छन्। त्यस्तै नेपालका प्रदिप घिमिरे, उत्तम सापकोटा र अनिल कुमार बमसललाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
कुलदिप शारण भने सट्टेबाज खेलाउने मुख्य अभियुक्त भएको खुलेको छ। उनी केही समयदेखि कमलपोखरीस्थित कोनार्क इन होटेलको कोठा नम्वर १ सय ५ मा बस्दै आएका थिए। उनीहरुको साथबाट प्रहरीले १ लाख ८५ हजार रुपैयाँ समेत बरामद गरेको छ।
उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।