काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सहसचिवको दरबन्दी रहेका जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) को जिम्मेवारी दिएकोबारेमा धेरै टिकाटिप्पणी हुँदैआएको छ । सहसचिव खटाउन नसक्ने भए पनि किन दरबन्दी राखियो भन्ने प्रश्न उठ्दैआएको छ ।
मन्त्रालयले बिहीबार बारा जिल्लाका सीडीओमा सहसचिव नै खटाएको छ । बारामा २ वटा उपमहानगरपालिका जीतपुर–सिमरा र कलैया छन् । ती उपमहानगरपालिकामा सहसचिव कार्यरत छन् । तर ती उपमहानगरपालिका हेर्नेगरी जिल्लाको सीडीओ भने रुद्रप्रसाद पण्डित कार्यरत थिए । ४ वटा निर्वाचन क्षेत्र रहेको बारामा उपसचिव सीडीओ राखेर एक निर्वाचन रहेको रामेछापमा सहसचिव राखिएको छ ।
गृहमन्त्रालयले आज सरुवा गरेका सीडीओहरु गोविन्द रिजाल मकवानपुर र दीपकराज नेपाल बारा छन् । बाराका सीडीओ पण्डितलाई मन्त्रालयमा तानिएको छ । विनाजिम्मेवारी राखिएका सहसचिव उमेश बस्नेतलाई स्याङ्जाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।