Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन्- जनताले खोजेको र रोजेको सही पात्रबाट काम अघि बढाउन पाउनुपर्छ


    शुक्रबार, कार्तिक ३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढाउन पाउनुपर्ने धारणा व्यक्त गरेका छन् । विजया दशमी २०८० को उपलक्ष्यमा सन्देश जारी गर्दै शाहले देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका हुन् ।

    शाहले व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको र यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ? भनेर प्रश्न समेत गरेका छन् । ‘ डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ । विदेशिएका र देशमै रहे बसेका दुबै थरीमा बिछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन् झन् खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ,’ शाहले विज्ञप्तिमा भनेका छन् ।

    शाहको शुभकामना सन्देश :

    तथा दाजु भाइहरू,

    नेपालीहरूको महान् राष्ट्रिय पर्व बडा दसैँ हाम्रा घर आँगनमा आइपुगेको छ । असत् माथि सत्को विजय दर्साउने यो पर्वले हामीलाई सही, सत्य देवी शक्तिको संवर्द्धन गर्न प्रेरणा प्रदान गर्दछ । देश तथा विदेशमा रहे बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

    हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदाय र विभिन्न सनातनी संस्कृति जे जुन भित्र रहे पनि अन्ततः हामी सबै नेपाली हौँ । यो साझा फूलबारीलाई सजाउनु, सिंगार्नु अनि यसको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । हामी सबै स्वतन्त्र सार्वभौम नेपाल राष्ट्रका होनहार सन्तति हौँ भन्ने हेक्का हामीमा रहनै पर्दछ । कसैले कसैप्रति निषेध र निन्दा नगर्ने सबैले सबैको आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्दछ ।

    धर्ममा नम्रता, संसारमा जस्तै महिमाको बाटो हो । अभाव र भेदभाव नेपालीपन होइन । सद्भाव विनाको राष्ट्र परिकल्पना पनि गर्न सकिँदैन ।

    डेढ दशक यताका अवधिमा नेपाली उतिविधी उत्साहमा छैनन्, हर्षित छैनन् । हाम्रो एक तिहाइ जनसङ्ख्या देश बाहिर छ । विदेशिएका र देशमै रहे बसेका दुवै थरीमा बिछोडको पीडा छ । महँगी, रोग, शोक, र भोकको ताप छ । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ । लोकहित र अग्र गतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गयो, न सुधार आयो । हाम्रो देश झन् झन् खराबी तिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेसी, कुना कन्दरा सबैतिर सुनिन्छ ।

    व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित छन् । यस्तो अवस्थामा जनताले उत्साह, उल्लास र उमङ्गका साथ चाडबाड मनाउन पाउनु त कता कता साँझ बिहानको जीवन यापन पनि कष्टकर बन्दै गएको त छैन ?

    जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्दछ । देश र जनता माथि अब कुनै प्रकारको घात हुनु हुँदैन – हाम्रो यही चाहना हो ।

    श्री नवदुर्गा भवानीले हामी सबैलाई राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरून् ।

    जय नेपाल ।

    मिति २०८० कार्तिक ३ गते

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार