Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप क्रिकेट: पहिलो जीतको खोजीमा रहेका अस्ट्रेलिया र श्रीलंका आज भिड्दै


    सोमबार, असोज २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंका खेल्दै छन् । खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा दिउँसो २ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः३० बजे हुनेछ ।

    यो खेलअघि नै श्रीलंकाको टोलीलाई ठुलो झट्का लागेको छ । टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । अक्टोबर १० मा पाकिस्तानविरुद्धको खेलमा शनाका घाइते भएका थिए ।

    उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा समावेश गरिएको छ । रिपोर्टका अनुसार शानाकाको अनुपस्थितिमा कुसल मेन्डिसले टोलीको कप्तानी गर्नेछन् ।

    यो विश्वकपमा दुवै टोलीको तेस्रो खेल हुनेछ । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया र श्रीलंकाले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेका छन् ।

    कंगारु टोली पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

    अस्ट्रेलिया र श्रीलंकाबिच हालसम्म कुल १०३ ओडीआई खेलिएको छ । अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ । ४ खेल अनिर्णित रह्यो ।

    एकदिवसीय विश्वकप प्रतियोगिताको कुरा गर्दा १० खेल खेलिएका छन् जसमा अष्ट्रेलियाले ८ पटक जितेको छ भने श्रीलंकाले मात्र एक पटक जितेको छ । एक खेल भने नतिजा आउन सकेन ।

    अस्ट्रेलिया: टोलीले पछिल्ला ५ खेलमध्ये ४ हारेको छ र एउटा मात्र जितेको छ।

    श्रीलंका: यो टोलीको हालत अस्ट्रेलिया जस्तै छ, अर्थात् पछिल्लो ५ खेलमध्ये ४ हारेको र एउटा मात्र जितेको छ ।

    यस वर्षको विश्वकपमा अस्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले सर्वाधिक रन बनाएका छन् । बलरमध्ये जोस हेजलवुडले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २ खेलमा ४ विकेट लिएका छन् ।

    यस विश्वकपमा श्रीलंकाका कुसल मेन्डिसले सर्वाधिक रन बनाएका छन् । उनले दुई खेलमा एक शतक र एक अर्धशतक सहित १९८ रन बनाए । दिलशान मदुशंकाले सर्वाधिक ४ विकेट लिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार