Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुरुयोजना विरुद्ध स्थानीयको विरोध जारी, घेरे पशुपति क्षेत्र विकासको कार्यालय


    बुधबार, असोज २१ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका छन् । पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयले दोस्रो चरणको विरोध अन्तर्गत आज कोषको कार्यालय रहेको क्षेत्रलाई घेराउ गरेका हुन् ।

    स्थानीय बासिन्दाले पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वकालदेखिको बस्ती मास्ने र पशुपति क्षेत्र भित्रको स्थानीय संस्कृति तथा जात्राको विनाश गर्ने गरी गुरुयोजना ल्याइएको आरोप लगाएका छन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान सङ्गतले पशुपति क्षेत्रभित्र रहेका १ सय ४० पर्व र ४० वटाभन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताए ।

    कोषले ल्याएको गुरुयोजनाको खारेजीको माग गर्दै आफूहरूले दोस्रो चरणको विरोध स्वरुप आज कोषको कार्यालय घेराउ गरेकाे उनले बताए । बागमती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको आराेप लगाए । उनले खासगरी स्थानीयले गुरोयोजना खारेज गर्न, पशुपति क्षेत्र विकास कोषको खारेज गरी काठमाडौं  महानगरपालिका अन्तर्गत ल्याउन माग गरेको बताए । 

    पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयले बताएका छन् । स्थानीय बस्ती हट्नेभन्दा पनि पशुपति क्षेत्र भित्रका जात्रा, पर्वहरूको विनाश हुने चिन्तामा आफूहरू रहेको स्थानीयले बताएका छन् ।

    पशुपति क्षेत्र विकास कोषले गत साउनमा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको गुरुयोजना मन्त्रालयमा पठाएको थियो । कोषले तयार पारेको एक सय वर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार