Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यासिनो किङ बलराम सापकोटाबिरुद्ध मुद्दा दायरः कसरी बने बीसौं करोडका मालिक ? 


    सोमबार, असोज १९ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • मेची क्राउन होटल र बलराम सापकोटा

    काठमाडौं । साठीको दशकमा क्यासिनोमा हार्ने जुवाडेहरुलाई मिटरब्याजमा पैसा लगानी गरी बीसौं करोडका मालिक बनेका बलराम सापकोटा ‘बले’लाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मिटरब्याजका नाइके सापकोटा र उनकी श्रीमतीविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ । सापकोटा दम्पत्तिविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरण गरेको मुद्दा विभागले दायर गरेको हो ।

    विभागले सापकोटा बिरुद्ध १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ । उनीहरुबाट बिगो, र बिगो बराबरकै जरिवाना असुल्न मागदाबी गरिएको छ ।

    बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न रिटमा मागदाबी गरिएको छ । बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ । विभागका अनुसार झापाका विभिन्न ठाउँमा बलेको नाममा स्रोत नखुलेको जग्गा पनि भेटिएको छ । सापकोटाले झापाको धुलाबारी मेची क्राउन होटल संचालनमा ल्याएका छन् । निषेधाज्ञाका बीचमा उनले स्थानीय प्रशासनको अनुमति नलिई भदौ ७ मा मेची क्राउन होटलको उद्घाटन भब्यतापूर्वक गराएका थिए । मेचीक्राउन होटलमा उनले क्यासिनो पनि संचालन गर्ने भएका छन् । भारतबाट क्यासिनोमा आउने ग्राहकहरुलाई लक्षित गरी उनले क्यासिनो संचालन गर्न लागेका हुन् । पछिल्लो समयमा नेपाल–भारत सीमाक्षेत्रका सहरमा मिनीक्यासिनो संचालन भइरहेका छन् । सापकोटाले पाँचतारे होटल नै खोलेर क्यासिनो संचालनमा ल्याउन लागेका छन् ।  

    को हुन् बलराम सापकोटा बले ?

    काभ्रेको रोसी–४ घर भई हाल लाजिम्पाट बस्दै आएका बले गतबर्षको तिहारमा जुवाखालबाट पक्राउ परेका थिए । बलराम सापकोटा क्यासिनोमा जुवा हार्नेलाई गाडी वा घर राखेर एक लाखको दैनिक १ हजारदेखि ५ हजार रुपैयाँसम्म ब्याज लिनेगरी पैसा दिने र तिर्न नसके घर र गाडी जफत गर्ने कार्य गरी रातारात करोडौंपति भएका हुन् । १० लाख रुपैयाँ दिएर करोडको गाडी र घर हडप्ने बलराम सापकोटाहरुको दैनिकी बन्दै गयो । त्यसरी मिटरब्याजमा पैसा दिएर करोडौंको सम्पत्ति हडप्नका लागि उनीहरुले प्रहरीका हाकिमहरुको पैसा समेत क्यासिनोमा हार्नेलाई लगानी गर्न सुरु गरे । भ्रष्टाचारको रकम प्रहरी अधिकृतले सापकोटा, बीरेन्द्रलाल श्रेष्ठहरुलाई लगानी गर्ने र त्यो पैसा उनीहरुले मिटरब्याजमा लगानी गर्न थाले ।

    प्रहरीको पैसा ब्याजमा लगाउँदा घरजग्गा र गाडी हडप्न उनीहरुलाई थप सहज हुँदै गयो । २०६४ मा वामदेव गौतम गृहमन्त्री भएको बेला बालिका ख्याती श्रेष्ठको हत्या क्यासिनोको लत लागेका वीरेन श्रेष्ठ प्रधानले गरेको खुल्यो । त्यसपछि क्यासिनोमा नेपाली प्रवेशलाई कडाइ गरिएको हो । क्यासिनोमा नेपाली प्रवेशमा कडाइ गरिएपछि सापकोटा र अरुण सेढाईहरु सिक्किम, दार्जिलिङका नागरिकको परिचयपत्र बनाउँदै नेपालीलाई क्यासिनोमा प्रवेश गराउनतिर लागेका हुन् ।

    सापकोटाका बिरुद्ध १७ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जित गरेको आरोपमा सम्पत्ति शुद्धिकरण विभागले मुद्दा दायर गरेकोमा आश्चर्य मानिएको छ । उनले खोलेको झापाको धुलाबारीको मेचीक्राउन होटलदेखि पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइट जस्ता थुप्रै ठाउँ छन् । ती कम्पनीमा उनको बीसौं करोडको सेयर लगानी रहेको भेटिएको छ । तर विभागले भने १७ करोडमात्र बिगो दाबी गरेको छ । मेची क्राउन होटलकै १० औ करोड पर्छ । मेची क्राउनमा उनका अलावा उनीसँगै गतबर्ष जुवाखालमा पक्राउ पर्ने एयर डाइनेष्टीका संचालक पवित्रकुमार कार्कीको पनि लगानी छ । होटल मेची क्राउन  भेगास इन्टरटेन्मेन्ट प्रालिद्धारा  संचालित छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार