Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पीडितलाई नै पीडा दिने अध्यक्षविरुद्ध २० लाख क्षतिपूर्तिसहित मुद्दा


    सोमबार, असोज १५ २०८०
    3.1K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • पाँचखाल । पाँचखाल नगरपालिका वडा नम्बर ६ का बहालवाला वडाध्यक्ष रामशरण दुलाल र काठमाडौंबाट सञ्चालन गरिएको युट्युव च्यानलकी सञ्चालिका रेनुका सुबेदीविरुद्ध काभ्रे जिल्ला अदालतमा वैयक्तिक गोपनीयता सम्बन्धी अपराधमा मुद्दा दर्ता भएको छ ।

    जबर्जस्ती करणीबाट पीडित बालिकालाई विवाहित पीडिकलाई नै दोस्रो श्रीमतीका रुपमा राख्न दबाब र धाकधम्की दिएर गैरकानूनी हर्कत गरेको आरोप लागेका पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले फौजदारी अभियोग पनि गाउँमै मिलाएका थिए । तथापि झण्डै चार महिनापछि यो विषयले प्रहरी कहाँ जाहेरी सहित प्रवेश पायो ।

    प्रहरीमा जाहेरी परी पीडक उमेश दनुवार पुर्पक्षका लागि हालै थुनामा रहेको अवस्थामा अध्यक्ष दुलालले काठमाडौंबाट युट्युबर बोलाएर बालिकाको नाम सार्वजनिक गरी वैयक्तिक गोपनीयताको हक सम्बन्धी कसूर गरेको भन्दै पीडितकी आमाले २० लाख क्षतिपूर्तिसहित मुद्दा (फिराद–पत्र) दर्ता गराएकी हुन् ।

    वडाध्यक्ष दुलालले जबर्जस्ती करणीमा पीडित भएकी १७ बर्षीया बालिका (पिपलटार १ क) लाई गाउँभेला गराएर मिलापत्र गराएको फिरादपत्रमा उल्लेख छ । गाउँमै धाकधम्की दिएर बिभिन्न प्रलोभनका कारण मिलाइएको यो विषयलाई डायरी एक्सप्रेस साप्ताहिकले गम्भीर फौजदारी अपराधका मुद्दा गाउँमै मिलाएको भन्दै समाचार प्रकाशन गरेको थियो । यस विषयमा समाचार प्रकाशन भएपछि वडाध्यक्ष दुलालले फोन मार्फत् पत्रिकाको प्रतिनिधिलाई धाकधम्की नै दिएका थिए । त्यसपछि मात्रै यो विषयमा गाउँमा मिलापत्र गर्नु नै गैरकानूनी भएको विषयमा केही समाजका अभियन्ताहरुको पहलमा जिल्ला प्रहरी कार्यालयमा जोहरी दर्ता गरिएको थियो । त्यसपछि मात्रै पीडितका पक्षमा न्यायको पहल गरिएको हो ।

    अहिले बालिकाका ठूलो बाबुलाई वडाध्यक्ष दुलालले पटक पटक धम्की दिने र मुद्दा फिर्ता लिनू भन्दै दबाब दिने गरेको बताएका छन् ।  शुक्रवार पीडितका तर्फबाट क्षतिपूर्ति दावीसहित गरिएको फिरादपत्रमा वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ को दफा ३ को उपदफा १,२,३,४ दफा ४,१६,२३,२७,२९,३१,३२ समेतको आधारमा न्यायका लागि पीडितकी सरोकारवाला आमाले यो मुद्दा दायर गरेकी छन् ।

    आफ्नै वडा कार्यालयमा युट्युबर बोलाएर अन्तर्वार्ता दिएका अध्यक्ष दुलालले आफू ढिलागरी भेलामा पुगेको स्वीकार पनि गरेका छन् । साथै वडाध्यक्ष जित्नका लागि आफूले १ करोड खर्च गरेको भन्दै निर्वाचन आचारसंहिताको पनि धज्जी उडाएका छन् । तथापि उनलाई हालसम्म कसैले पनि स्पष्टीकरण सोधेको छैन ।

    जबर्जस्ती करणी जस्तो गम्भीर फौजदारी अपराधमा पीडितको नाम गोप्य राख्ने गरिन्छ । त्यसो त काभ्रे प्रहरीले पनि पीडितको नाम गोप्य राखेको छ । यसअघि क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको जबर्जस्ती करणी मुद्दामा पनि पीडित गौशाला– १६ ले अहिले वैयक्तिक गोपनीयता सम्बन्धी अपराधमा नाम सार्वजनिक गर्ने युट्युबरलगायतका अनलाइन समाचार माध्यमहरुलाई मुद्दा दायर गरेको साइवर ब्यूरो भोटाहिटीका प्रहरी अधिकृतले बताएका छन् । त्यसअघि पीडित गौशाला –१६ साइबर व्यूरोमा जाहेरी लिएर गएकी थिइन् ।

    जबर्जस्ती करणी जस्तो गम्भीर अपराधका विषयमा अदालतमा समेत बन्द इजलासमा सुनुवाइ गरिन्छ । तर, वडाध्यक्ष दुलाल र युट्युबर रेनुका सुबेदीले भने पीडित बालिकाको नामै किटान गरी ऐन, कानूनको धज्जी उडाएका छन् । साथै अहिलेसम्म पाँच हजार भन्दा बढीले उक्त युट्युव हेरिएको प्रष्ट देख्न सकिन्छ । यसबाट पीडित पक्षमाथि समाजमा गम्भीर असर पुगिरहेको हुन्छ । अध्यक्ष दुलालले युट्युवर बोलाएर समाचार सार्वजनिक गरेपछि पीडितलाई गाउँमा बस्नै नसकिने अवस्था सिर्जना गरिएको छ ।

    पछिल्लो समयमा पीडितलाई न्यायभन्दा पनि पैसाका लागि भ्युअर बढाएर कमाउधन्दा चलाएका यूट्युबरका कारण आम मानिसहरु पीडित बनेका छन् । साथै प्रेस काउन्सिल, पत्रकार महासंघ र सूचना विभागसँग सम्बन्धै नभएका ब्यक्तिहरुले पत्रकारको नाममा आम मानिसहरुलाई हैरानी दिने प्रवृत्ति ह्वात्तै बढेको छ ।

    राजधानी काठमाडौंबाट झण्डै ४५ किमी टाढा रहेको पाँचखाल नगरपालिकामा अहिलेको गणतन्त्रकालीन समयमा पनि वडाध्यक्ष दुलालले पञ्चायतकालीन नेताहरुले गरेको गाउँ भेलालाई बिर्साएका छन् । यसरी कतिपय वडाअध्यक्षले गरेको व्यवहारले संविधानमाथि नै प्रश्न खडा भएको छ । नेपालको संविधान २०७२ ले फौजदारी कसुर सम्बन्धी विषयमा गाउँमा जबर्जस्ती गरिएका मिलापत्र गैरकानूनी ठाने पनि केही वडाध्यक्षहरु भने आफूलाई भुरेटाकुरे राजा नै सम्झिएर जबर्जस्ती अदालती काम गरिरहेका छन् ।

    अझ आर्थिक र भौतिक रुपमा कमजोर पीडितको बदनाम गरी आफूलाई नै सर्वेसर्वा सम्झिरहेका छन् । गम्भीर फौजदारी अपराधमा अदालतमा विचाराधीन रहेको मुद्दामा पीडिकलाई लाभ हुने र प्रभावित पार्ने तरिकाले युट्युबर डाकेका अध्यक्ष दुलाललाई यो मुद्दाले जीवनको ठूलो पाठ भएको भन्दै एक जना पाँचखाल वडा नम्बर ६ कै बासिन्दा बताउँछन् ।

    पाँचखाल नगरपालिका वडा नम्बर ६ मा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भए पनि कानूनको सामान्य ज्ञान पनि नभएका वडाध्यक्ष दुलालले केही समयअघि माओवादीका विषयमा गम्भीर टिप्पणी गरेपछि माफी माग्नुपरेको थियो ।

    स्थानीय सरकारको प्रमुख भएपछि के काम गर्न हुने र नहुने स्पष्ट अधिकार क्षेत्रको किटान संविधान र ऐनमै प्रष्ट गरिएपनि स्थानीय तहका प्रतिनिधिहरु आफैं जबर्जस्त गैरकानूनी काममा सक्रिय छन् ।
    यस विषयमा प्रकृति फिल्मस् एण्ड मिडिया नामक युट्युवकी सञ्चालिका रेनुका सुबेदीसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले सार्वजनिक गरेको युट्युबको मोबाइल नम्बर स्वीच अफ गरेको पाइयो । वडाध्यक्ष दुलालसँग सम्पर्क गर्दा उनले भने मुद्दा परे आफू अदालतमा जान तयार रहेको भन्दै बचाउ गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार