काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड-१९ (कोरोना) संक्रमणबाट विदेशमा अहिलेसम्म २ सय ६६ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न १८ देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो ।
यस्तै ४२ देशमा रहेका नेपालीहरुमध्ये ३५ हजार ९ सय १६ जना कोरोना संक्रमणबाट मुक्त समेत भएका छन् ।
समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएको छ । यस्तै गरी यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७४.२ प्रतिशत हो । हालसम्म नेपालमा ५ सय २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये १ लाख २४ हजार ९८ जनामा संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ जना कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।