काठमाडौं । जनमत पार्टीले अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएपछि कर्मचारी सरुवामा खुलेआम आर्थिक लेनदेन हुन थालेको छ ।
सरुवाको अन्तिम टुंगो मन्त्री अनितादेवीका श्रीमानले लगाउने गरेका छन् । पार्टीले फर्म भरेर पठाएका कर्मचारीहरु सरुवाको सूची प्राथमिकतामा नपरी फालिने गरेका छन् । मन्त्रीका श्रीमान र अध्यक्ष राउतका दूत न्यौपानेले पठाएका नाम सदर हुने गरेका छन् ।
सामान्य प्रशासन मन्त्रालयमा अनिता मन्त्री भएपछि उनका श्रीमान, भाइ र पूर्वमन्त्री अमनलाल मोदीका पीएहरु सुमन कालिकोटे, ताजिम अन्सारी, विचौलिया मनोज चौहानले सरुवाका लागि कर्मचारी खोज्ने र टुंगो लगाउने गरेका छन् ।
मन्त्रीका भाइ सन्तोष साह, श्रीमान सञ्जय साह र केही आफन्तको खातामा फन्ड ट्रान्सफर गराउने र आएपछि मात्रै सरुवाको पत्र दिने गरिएको छ । यसमा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनले पनि साथ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका सरोकारवाला निकायले मन्त्रीका श्रीमान सञ्जय, भाइ सन्तोषको खाताको स्टेटमेन्ट झिकाएर हेर्ने हो भने कर्मचारी सरुवामा आर्थिक लेनदेन भएको पुष्टि हुने स्रोत बताउँछ ।
आर्थिक लेनदेनकै आधारमा धनुषाको सहिदनगर नगरपालिकामा अख्तियारमा मुद्दा चलिरहेका केशव अधिकारीलाई सरुवा गरिएको छ । मन्त्रीका भाइ सन्तोष साहलाई रकम राखेपछि उनले सरुवाको पत्र पाएका छन् । यसमा ११ लाखको कारोबार भएको स्रोतले बताएको छ ।
सरुवामा नांगो चलखेल, जनमत पार्टीभित्र विवाद
खुलेआम आर्थिक चलखेलका आधारमा कर्मचारी सरुवा भएपछि जनमतका जिल्ला जिल्लाका कार्यकर्ता सिंहदरवारमा मन्त्रीसँग भेट्न पुगेका थिए । स्थानीय पार्टीको सिफारिस विपरीत बदनाम कर्मचारीको सरुवा गरिएकोबारेमा मन्त्री अनितासँग गुनासो गर्न पुगेका कार्यकर्ताहरुसँग उनको भनाभन भएको थियो । कार्यकर्ता र मन्त्रीको सचिवालयका कर्मचारीहरुबीच विवाद बढ्दै गएपछि हात हालाहालकै अवस्था निम्तिएको थियो । सरुवामा मन्त्रीका श्रीमान सञ्जयले धेरै हस्तक्षेप गरेपछि निजी सचिवसँग झण्डै हात हालाहाल भएको थियो । अहिले बोलचाल नै बन्द छ ।
विवाद बढेपछि प्रहरी बोलाएर साम्य पारिएको थियो । सरुवाको बिषयमा विवाद भएपछि सुरक्षाका लागि सामान्य प्रशासनमा प्रहरी राख्न थालिएको छ । सरुवाको बिषयमा भएको विवादका बारोमा जनमत पार्टीको सचिवालयमा निवेदन परेको छ ।
मन्त्री साह आएपछि सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवाको न्यूनतम रेट ५ लाख रुपैयाँ राखिएको स्रोत बताउँछ । पछिल्लो चरणमा आरजु राणाको कोटामा आएको भन्दै गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थीलाई लगिएको छ । ५५ लाख रुपैयाँको कारोबारमा उनलाई लगिएको छ । गोकर्णेश्वरमा बन्न लागेको ल्याण्डफिल्ड साइट संरचनाको प्रोजेक्टको लोभ देखाइएको छ । तर मेयरले पन्थीलाई हाजिर नगराउने खबर पठाइसकेपछि पन्थीबाट आएको घुुस पचाउन मन्त्रीका श्रीमान र भाइलाई सकस पर्ने देखिएको छ । पन्थी साविकको डोलिडारको कर्मचारी प्रशासनको शाखा अधिकृतदेखि गोदावरी नगरपालिका हुँदै सधैंजसो आकर्षक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा अकूत सम्पत्ति आर्जन गर्ने कर्मचारीमा पर्दछन् ।
वन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बसेका उपसचिव प्रेम सिंखडालाई सुगमबाट यसअघिका सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मधेश प्रदेशको रौतहटस्थित पर्रोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाएका थिए । मोदीले सरुवा गरे पनि उनी रौतहटको पर्रोहा नगई बसेका थिए । तर अहिलेका मन्त्री अनिताले वन मन्त्रालयमै फिर्ता गरिदिएकी छिन् । सिंखडा एक प्रतिनिधि पात्र हुन्, यस्ता धेरै कर्मचारीको सरुवा बदर गर्दा पनि मन्त्री अनिताका श्रीमान र भाइले आर्थिक लेनदेन गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पठाउने विषयमा मन्त्री अनिता र जनमत पार्टीका जिल्ला इन्चार्ज तेजनारायण कँडेलसँग टेलिफोनमा भनाभन भएको बिषय समेत नेपालफेसलाई प्राप्त भएको छ । जिल्ला इन्चार्जले नमान्दा नमान्दै प्रमुख प्रशासकीय अधिकृतमा केही दिनअघि उपसचिव ओमबहादुर खड्कालाई पठाइएको छ । जबकि नेपालगंज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवको दरबन्दी छ । स्रोतका अनुसार खड्कासँग पनि दररेट अनुसार लिएर खातामा आइसकेपछि सरुवाको पत्र दिइएको थियो ।
जनमत पार्टीका अध्यक्ष सीके राउत स्वयंले कर्मचारी सरुवामा फन्ड संकलन गर्नका लागि नेपाली कांग्रेस कमल गाउँपालिका अध्यक्ष बुद्धिराज न्यौपानेलाई मन्त्री साहको सल्लाहकारमा नियुक्ति दिएका छन् । न्यौपानेले महानगर, नगर र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुन चाहनेहरुसँग दररेट तय गर्दै होटल र क्याफेमा बोलाउँदै डिल गर्ने गरेको स्रोतले बताएको छ । तर मन्त्री अनिताले भने न्यौपानेलाई राउतको दबाबमा नियुक्ति दिए पनि सरुवामा भने श्रीमान र भाइकै सेटिङपछि मात्र पत्र दिन कर्मचारी प्रशासन महाशाखा र शाखाका प्रमुखलाई निर्देशक दिएकी छन् ।
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend