काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेट गरी स्वास्थ्य अवस्था बुझेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार अस्पताल पुगेका हुन् । पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारको लागि जायज माग राखी सत्याग्रहमा बसेका डा. केसीले नागरिककाे माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गरे ।
डा. केसीले राखेका मागहरु पूरा हुने चरणमा रहेको भनेर सरकारले बताइसकेको अवस्थामा तत्काल वार्ताको वातावरण निर्माण गरी समस्या समाधान गर्न उनले आग्रहसमेत गरे । उनले राष्ट्रकै अमूल्य सम्पत्तिको रुपमा रहेका डा। केसीको ज्यान बचाउन पनि छिटो भन्दा छिटो वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।
डा केसीको यो १९ औँ सत्याग्रह हो । विभिन्न माग राखेर १९ दिन अघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्नुभएका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखेर डा. केसी अनशनमा बसेका हुन्।
अनशनकाे १९ दिन बितिसक्दा पनि सरकारले समस्या समाधानका लागि अहिलेसम्म कुनै पहल गरेको छैन ।