Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • औषधि व्यवस्था लिमिटेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्दो


    बुधबार, असोज १४ २०७७
    560
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो । विभागका निमित्त महानिर्देशक विजयश्री रत्न बज्राचार्यले अहिले दैनिक झण्डै तीन लाख रुपैयाँ हाराहारीको स्यानिटाइजर बिक्री भैरहेको बताए ।

    लिमिटेडले एलोपेथिक औषधि उत्पादन गर्दै आएको छ । मुख्यगरी सिटामोल, सिटाप्लस, दुई प्रकारको जीवनजल, स्यानिटाइजर, ग्लिसिरिन, डिस्टिल्ड वाटर यहाँ उत्पादन हुन्छ । स्यानिटाइजर भने गत चैतबाट बजारको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन सुरु गरिएको हो । चैतमा स्यानिटाइजर र मास्कको हाहाकार थियो । सरकारले कोभिड–१९ सङ्क्रमण देखिन थालेपछि चैत ११ बाट बन्दाबन्दीको आदेश जारी गरेको थियो ।

    “हामीले बन्दाबन्दी हुनुभन्दा केही अघि नै बजारको आवश्यकतालाई ध्यान दिएर उत्पादन थालेका थियौँ, अहिले दैनिक २० हजार लिटरसम्म उत्पादन गर्न सक्छौँ”, बज्राचार्यले भने, “बजारको मापदण्डविपरीत पाइएकाले उपभोक्तामा अहिले हाम्रो उत्पादनको माग बढी छ ।”

    उनका अनुसार अहिले ६०, १ सय , २ सय एमएल र आधा लिटरको बोतलमा स्यानिटाइजर उत्‍पादन हुँदै आएको छ । यसको औषधि व्यवस्था विभागले तोकेको बजार मूल्य ६० एमएलको ७८ रुपैयाँ, १ सय एमएलको १ सय २५ रुपैयाँ, २ सय एमएलको २ सय ५० र आधा लिटरको ४ सय ५० रुपैयाँ रहेको छ ।

    मागअनुसार ५ लिटरको पनि बिक्री हुँदै आएको छ । त्यसको मूल्य भने ३ हजार रुपैयाँ तोकिएको छ । बजारमा पाइने कतिपय स्यानिटाइजरको अल्कोहल ७० प्रतिशतको हाराहारीमा हुने भए पनि यहाँ भने ८० प्रतिशत नै राख्ने गरिएकाले केही उडेर गए पनि किटाणु मार्न पर्याप्त हुने जनाइएको छ । मापदण्डअनुसार ७० देखि ८० प्रतिशत अल्कोहल हुनुपर्ने हुन्छ ।

    सुरुमा एक सय, २ सय एमएलको माग बढी भए पनि अहिले भने ५ लिटरको माग बढिरहेको र सोहीअनुसार उत्पादन भइरहेको उनले बताए । “अहिले बन्दाबन्दी र निशेषाज्ञा खुलेपछि अझै माग बढ्दो छ, हामीले अहिलेसम्म माग धानिरहेका छौँ”, बज्राचार्यले भने । उनका अनुसार एक दिनमा २० हजार लिटरसम्म बिक्री भएको छ । 

    कोभिड–१९ को महामारी शुरु भएपछि सुरुमा घरेलु उद्योगका स्यानिटाइजर आउन थालेको थियो । त्यसमा झण्डै ६५ प्रतिशत मात्रै अल्कोहल रहेकाले किटाणु मार्न पर्याप्त थिएन । त्यसैले औषधि व्यवस्था लिमिटेडले अनुमतिप्राप्त गर्नुअघिबाटै उत्पादनको प्रक्रिया थालेको थियो । औषधि व्यवस्था विभागले अनुमति लिनका लागि सूचना जारी गर्ने बित्तिकै कागजात बुझाई लाइसेन्स लिएर तत्कालै काम थालेको हो ।

    विभागले पछिल्लोपटक गरेको अनुगमनमा काठमाडौं र भक्तपुरका विभिन्न कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मापदण्डविपरीत विषाक्त रसायन (मिथानोल) पाइएको समाचार सार्वजनिक भएपछि माग अझै बढेको औषधि व्यवस्था लिमिटेडले जनाएको छ । उक्त स्यानिटाइजरको प्रयोगले मानव स्वास्थ्यमा असर गर्न सक्ने भन्दै औषधि व्यवस्था विभागले प्रयोग नगर्न सर्वसाधारणसँग अपिल गरिसकेको छ ।

    काठमाडौंको हाइजनिक सोप एण्ड केमिकल प्रालिद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फुड इण्डष्ट्री प्रालिको एड्भान्स ह्याण्ड स्यानिटाइजर, सर्च केमकम हर्वल प्रोडक्टको इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसमेन्ट जेल, सूर्यमुखी हर्वल प्रोडक्ट कम्पनीद्वारा उत्पादित सूर्यमुखी ह्याण्ड स्यानिटाइजरलगायतमा मापदण्डविपरीत विषाक्त रसायन भेटिएको हो ।

    यस्तै भक्तपुरको नेपाल कायाकल्प उद्योगद्वारा उत्पादित इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा समेत विषाक्त रसायन (मिथानोल) भेटिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । पछि अन्य केही कम्पनीले उत्पादन गरेको स्यानिटाइजरसमेत कैफियत भएको पाइएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार