चितवन । कोरोना संक्रमणबाट सुरुवातको चरणमा सबै संक्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय संक्रमित बिरामी घट्दै गएका छन् । तर, अन्य रोगका बिरामी भने बढ्न थालेका छन् ।
स्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आज अस्पतालमा १७ जना मात्रै कोरोना संक्रमित बिरामी छन् ।
यो सङ्ख्या ८३ जनासम्म पुगेको थियो । संक्रमितहरु स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो सङ्ख्या घटेको हो ।
पौडेलका अनुसार अस्पतालले हालसम्म ३३७ जना संक्रमितको उपचार गरिसकेको छ । यसमध्ये १३ जनाको मृत्यु भएको थियो ।
मृत्यु भएकामध्ये १० जना चितवनकै र अन्य कैलाली, गोरखा र मकवानपुरका रहेका छन् ।
सङ्क्रमितको सङ्ख्या घटेसँगै अस्पतालले संक्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न सुरु गरेको छ ।
पौडेलका अनुसार पछिल्ला दिनमा बहिरङ्ग सेवाका बिरामी बढेर गएका छन् । आइतबार मात्रै ४७३ जनाले बहिरङ्गबाट र १०३ जनाले आकस्मिकबाट सेवा लिएका थिए ।
यसअघि गएको शुक्रबार बहिरङ्ग सेवामा २४१ र आकस्मिकमा ९९ जना बिरामी मात्रै आएका थिए । बिहीबार यो सङ्ख्या १५० र ११४ रहेको थियो ।
अस्पतालले ‘ए’ ब्लकको भुइँतलामा रहेको हाडजोर्नी र सर्जिकल विभागमा संक्रमित राखेको छ ।
त्यसैगरी पुरानो क्याबिनमा पनि संक्रमित छन् । क्रमशः बिरामी घट्दै जाँदा ती ठाउँमा पनि अन्य बिरामी राखिने अस्पतालले जनाएको छ ।
अस्पतालका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार क्याबिनहरु सुरुभएपछि प्रसूति गराउन आउनेहरु लाभान्वित भएका छन् ।रासस