Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हङकङलाई हराउँदै नेपालले जित्यो महिला टी-२० सिरिजको उपाधि


    शनिबार, भाद्र ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । चार देश सम्मिलित महिला टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ । मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो ।

    हङकङले दिएको एक सय दुई रनको विजय लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा वर्षाले खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन: खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लेविस प्रणालीका आधारमा विजयी भएको थियो ।

    वर्षा सुरु हुनुअघि नेपालले ५.३ ओभरमा एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले १९ रन बनाउनुभयो । सीता रानामगरले १३ रन बनाउनुभयो । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । हङकङकी कप्तान केरी चानले सर्वाधिक २९ रन बनाइन् ।

    मारिना लम्प्लगले १९, शान्जिन शाहजादले १४ र इक्रा साहर १० रन बनाइन् । बलिङमा नेपालकी खुशी डंगोलले तीन विकेट लिइन् । अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिइन् । सिरिजमा नेपाल नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका थिए । मलेसियाले कुवेतलाई हराउँदै तेस्रो बन्यो ।

    नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअघि तयारीका लागि सिरिज खेलेको हो । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामै खेल्नेछ । नेपाल रहेको समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (युएई), कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छ ।

    नेपालले पहिलो खेल ३१ अगस्टमा मलेसिया, दोस्रो खेल सेप्टेम्बर १ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ३ मा भुटान, चौथो खेल सेप्टेम्बर ४ मा कतार र अन्तिम खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार