Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेता महर भन्छन्- सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपर्छ


    आइतबार, साउन १४ २०८०
    975
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार अपेक्षाकृत रूपमा जनभावना अनुरूप चल्न नसकेको धरान व्यक्त गरेका छन्।

    नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले वर्तमान सरकारप्रति जनताका अपेक्षा धेरै रहेको र सरकार सो अनुरूप चल्न नसकेको बताएका हुन्।

    सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपर्ने आवश्यकता देखिएको महरले ‍औँल्याए। ‘काँग्रेस गठबन्धनको सबै भन्दा ठूलो दल हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल हुँदा त्यसको दोष कांग्रेसको टाउकोमा पनि आउँछ। हामीले चुनावको समयमा जनतासामु गरेका वाचा र प्रतिबद्धता भुल्नु हुँदैन। वर्तमान सरकारले अपेक्षाकृत रूपमा कामको गति समात्न सकेको छैन। त्यसैले सरकारलाई जनअपेक्षीय रूपमा सञ्चालन गर्न छुट्टै संयन्त्र गठन गर्नुपरे त्यो पनि गरौँ,’उनले भने।

    मन्त्रिपरिषद्‍बाट कुनै निर्णय हुने वा मन्त्रीहरूले निर्देशन दिने काममात्र गर्न नहुने बताउँदै उनले जनताका अपेक्षा के छन् र मुलुकका लागि तत्काल आवश्यक प्राथमिकताको विषय के छ? भन्ने पहिचान गरेर सरकारले सो अनुरूप काम गर्न सक्नुपर्ने बताए।

    ‘अहिले पशु चौपायामा लागेको लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको छ। लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसके छ। यसले किसानहरू ठूलो मारमा परेका छन्। सरकारले सुरुमै संक्रमित पशुमा खोप लगाउन सकेको भए अहिलेको अवस्था आउने थिएन।

    सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो। त्यो हुन सकेन,’महरले भने। किसानलाई हाम्रा लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन सक्ने गरी सरकारले काम गर्नुपर्ने उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार