जुम्ला । आईसीयू कक्षमा अनशनरत डा. गोविन्द केसीको सहज उपचारको वातावरण बनाउन चिकित्सकले सु्झाव दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताउँदै उनीहरुले यस्तो सुझाव दिएका हुन् ।
प्रतिष्ठानको चिकित्सक टोलीले बुलेटिन जारी गरी केसीको स्वास्थ्य गम्भीर बन्दै गएको र उनले कुनै पनि जाँच गराउन अस्वीकार गरिरहेकाले उपचारका लागि सहज हुने स्थानमा लैजान राम्रो हुने सुझाव दिएको हो ।
डा. केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती अस्पताल पुर्याएको थियो । माग सम्बोधन गर्नुको साटो अपहरण शैलीमा अस्पताल ल्याइएको भन्दै उनले अनशनको आठौं दिन पनि कुनै उपचार लिन मानेका छैनन् ।
शनिबारसम्म दिनको तीनपटक स्वास्थ्य जाँच गरिरहेकोमा अस्पताल ल्याएपछि उनले कुनै पनि जाँच गराउन नमानेको प्रतिष्ठानका डा. प्रवीण गिरीले बताए । ‘प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न सकिएको छैन,’ उनले भने, ‘रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने अवस्था छ । रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि बढेर गएको छ ।’ त्यसैले यथाशीघ्र उपचारका लागि सहज हुने स्थानमा लैजानुपर्ने उनले बताए ।
प्रतिष्ठानले डा. केसीको उपचारमा गिरीसहित डा. धीरज गुरुङ, डा. अनुपमंगल समाल र सविना थापालाई खटाएको छ ।