Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोसी प्रदेश सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा


    मंगलबार, साउन ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट आज ‘हेर्दाहेर्दै’ मा परेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आजदेखि सुनुवाइ भएको यो रिट अब यही इजलासले टुंगो लगाउने भएको छ ।

    यस्तै कोसी प्रदेशसभा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन असंवैधानिक रुपमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको भन्दै बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसहित कार्कीले गत २२ असारमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

    उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोसी सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त इजलासले साउन ७ गतेदेखि निरन्तर सुनुवाइ र अन्तिम आदेश गर्ने गरी मिति समेत तोकेको थियो ।

    साउन ७ मा सो रिट न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा परेको थियो । तर, न्यायाधीश रेग्मीले रिटकर्ता कार्की आफ्नो ‘क्लासमेट’ भएको भन्दै मुद्दा हेर्न नमिल्ले बताएपछि सुनुवाइ सारिएको थियो ।

    सोमबार (हिजो) न्यायाधीशद्वय सुस्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिटको सुनुवाइ संवैधानिक इजलासले गर्ने वा पूर्ण इजलासमा पठाउने भन्ने बहस भएको थियो । न्यायाधीश श्रेष्ठले नै उक्त प्रश्न राखेका थिए ।

    संवैधानिक इजलासमा सातामा एक दिन मात्र सुनुवाइ गरिँदा ढिला हुने भएकाले कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने अवधिअघि नै फैसला हुने गरी पूर्ण इजलासमा सुनवाइ हुने निर्णय भएको थियो । पूर्ण इजलासले अब निरन्तर सुनुवाइ गरेर आदेश गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार